Latest News

भरतपुर महानगरमा एमालेको अग्रता बढ्यो, कांग्रेसबाट बागी उठेका पौडेलले कति मत ल्याए ?

Nepalese Times May 14, 2022 (1 Year ago)    1163 Views

काठमाडौं । चर्चामा रहेको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । विहान ११ बजेपछि महानगरको वडा नम्बर १ ख बाट मतगणना सुरु भएको हो ।

मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा सुरु भएको हो । मतगणनाका लागि मतगणनास्थलमा तारजाली लगाउनुका साथै सीसीटीभी पनि जडान गरिएको छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार २० मत गन्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि १ भोट ल्याएका छन्। अहिले २० मत गन्दा एमालेका विजय सुवेदीले ११, गठबन्धनकी रेनु दाहालले ६ र कांग्रेसबाट विद्रोह गरी भुइँकटहर चुनाव चिह्नमा उठेका जगन्नाथ पौडेलले १ मत ल्याएका छन्।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

यस्तै नेकपा एमालेले यो पटक भरतपुरमा बलियो उम्मेदवार उठाएको छ । यो पटक देवी ज्ञवालीललाई मेयरको टिकट दिने चर्चा भएपनि अन्तिम समयमा आएर विजय सुवेदीले टिकट पाएका छन् ।

उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको टिकट लिएर मैदानमा आएका हुन् । स्थानीय चुनावको घोषणा भएदेखि नै तरंगित भरतपुर नयाँ–नयाँ आशंका र अनुमानबाट गुज्रिरहेको छ ।गत स्थानीय निर्वाचनमा सबैभन्दा चर्चामा रहेको महानगरपालिका भरतपुरमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार बनेकी रेनु दाहाललाई नेपाली काँग्रेसले सघाएको थियो ।

मत गणनाको क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि यो महानगरपालिका चर्चाको शिखरमा रहेको थियो । यसपाली पनि कांग्रेससहित पाँच दलीय गठबन्धनले दाहाललाई नै मेयरमा उम्मेदवारी बनाएका छन् । उपमेयरमा नेपाली काँग्रेसका नगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै राप्रपासँग गठबन्धन गर्दै नेकपा एमालेले मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, उपमेयरमा राप्रपाबाट हिमाली गुरुङ उम्मेदवार बनेकी छिन् । अघिल्लो निर्वाचनमा दाहालले ४३ हजार १ सय २७ मत र उनका प्रतिद्धन्द्धी नेकपाल एमालेका देवी प्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए ।

उपप्रमुखमा नेपाली कांग्रेसबाट पार्वती शाह ठकुरीले ४७ हजार १ सय ९७ भोट ल्याएकी थिइन भने नेकपा एमालेबाट दिव्य शर्माले ३९ हजार ५ सय २५ मत ल्याएकी थिइन । भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस