Latest News

कुखुराको मासुको भाउ फेरि ह्वात्तै बढ्यो, किलोको कति पुग्यो ?

Nepalese Times May 11, 2022 (1 Year ago)    1355 Views

काठमाडौं । चुनावको दिन नजिकिएसँगै कुखुराको मासुको भाउ ह्वात्तै बढेको छ । यसअघिका वर्षहरुमा बैशाख महिनामा कुखुराको मासुको मूल्य घट्ने गरेको भए पनि यो पटक भने कुखुराको मूल्य ह्वात्तै बढेको हो ।

वैशाख मध्यसम्म जिउँदो कुखुरा किलोको तीन सय रूपैयाँमा बेचेका तारकेश्वर नगर काभ्रेस्थली–२ का प्रकाश अधिकारीले अहिले तीन सय दस रूपैयाँ किलोमा बेचिरहेका छन्। पहिले यसरी कहिल्यै मूल्य बढेको थाहा नभएको भन्दै उनले प्रतिकिलो तीन सय दस रूपैयाँमा बेचेको यो पहिलो पटक भएको बताए ।

अहिले चुनावको समयमा मूल्य बढेको हुन सक्ने भएकोले पछि फेरि मूल्य घट्ने हो किभ न्ने पनि किसानहरुमा चिन्ता बढेको छ । चुनावपछि भाउ घट्ने वा बढ्नेबारे अहिले केही भन्न नसकिने राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताएका छन् ।

वैशाख २४ गतेदेखि जिउँदो कुखुराको मूल्य किलोको तीन सय दस रूपैयाँ बनाइएको हो। त्यसको अघिल्लो दिनसम्म तीन सय रूपैयाँ थियो। अहिले कुखुरा मासुको माग ह्वात्तै बढ्नुमा चुनाव नै कारण भएको व्यवसायीहरु बताउँछन् ।

काठमाडौं उपत्यकामा भने सामान्य अवस्थाको तुलनामा कुखुरा मासुको खपत बढेको छैन। सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक ५ लाख किलो कुखुराको मासु खपत हुन्छ। तर पनि अहिले दैनिक चार लाख किलो हाराहारी बिकिरहेको उनले जानकारी दिए।

बाहिरी जिल्लामा भने कुखुरा मासु खपत ३० प्रतिशतभन्दा धेरै बढेको छ। सामान्य अवस्थामा जिल्लामा दैनिक ३ लाख किलो खपत हुँदा अहिले चार लाख किलो हाराहारी छ। काठमाडौंबाट मान्छेहरू बाहिरिने क्रम चलिरहेकैले खपत अझै बढ्ने अनुमान उनको छ।

जिउँदो कुखुराको मात्रै होइन, काटेको मासुको मूल्य पनि अहिले बढेको छ। पहिले बढीमा साढे तीन सय रूपैयाँसम्म पुग्ने मासु अहिले प्रतिकिलो चार सय ३० रूपैयाँ पुगेको छ।

अध्यक्ष बिसीका अनुसार चार दिनअघि कुखुराको काटेको मासु किलोको चार सय १५ रूपैयाँ थियो। अहिले किलोमा १५ रूपैयाँ बढेर चार सय ३० पुगेको छ। प्रतिकिलो चार सय ३० रूपैयाँ त संघले तोकेको मूल्य मात्रै हो। खुद्रा बजारमा ग्राहकले प्रतिकिलो चार सय पचास रूपैयाँसम्म पनि तिरिरहेका छन्।

भ्याली कोल्ड स्टोरका सञ्चालक हरि कृष्ण रावल भने कुखुरा मासुको उत्पादन र मागको तालमेल नमिल्दा मूल्य बढेको बताउँछन्। स्थानीय तहको चुनाव सकिएपछि बजार पहिलेकै अवस्थामा आउने उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस