Latest News

अन्तिम समयमा आएर महानगरका कांग्रेस बागी उम्मेदवार गठबन्धनलाई सघाउन तयार, गरे यस्तो घोषणा

Nepalese Times May 9, 2022 (1 Year ago)    661 Views

काठमाडौं । पोखरा महानगरको मेयरमा गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उठेका कांग्रेसका विमलबहादुर कार्कीले गठबन्धनको उम्मेदवारलाई सघाउने भएका छन् ।

अन्तिम समयमा उनले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि कांग्रेसका ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले समेत मेयरमा बागी उम्मेदवारी दिएको भए पनि पछि फिर्ता लिएका थिए ।

सोमबार एक विज्ञप्ति जारी गर्दै मेयर उम्मेदवार कार्कीले मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका हुन् ।

पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निष्क्रिय भएको उनले बताएका छन् । अग्रज नेताको आग्रहलाई मान्दै आफूले नेपाली कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको भन्दै उनले विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निस्क्रिय भएको घोषणा गरेका हुन् ।

पार्टीभित्र असन्तुष्टि भए पनि आन्तरिक रुपमा मिलाउने र गठबन्धनका उम्मेदवारलाई जिताउने गरी कार्कीले उम्मेदवारी फिर्ता लिएकोमा आफू निकै खुसी भएको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए ।

उनले बागी उम्मेदवाी निष्क्रिय बनाउने घोषणा गरेसँगै नेपाली कांग्रेस कास्कीले पनि कार्कीलाई धन्यवाद दिएका छन्। पार्टीलाई सघाउने काम गरेको र यो उदाहरणीय काम भएको भन्दै कांग्रेस कास्कीका सभापति बरालले अब गठबन्धनलाई चुनाव जित्न अझै बढी सजिलो भएको बताए ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा पार्टीबाट बागी उठेका जो-कोहीलाई नछाडिने बताएका छन्। कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधनका क्रममा उनले बागी उम्मेदवारी दिनेहरूको भविष्य पार्टीमा नरहने पनि बताए।

‘बागी उम्मेदवारहरूलाई कुनै हालतमा छाडिने छैन। बागीलाई पार्टीले कारबाही गर्छ, गर्छ’, देउवाले भने, ‘बागीका कारण पार्टी हार्‍यो भने हामी कारबाही गर्छौँ। उनीहरुलाई कुनै ठाउँ छैन।’

देउवाले कैलालीका केही गाउँपालिकामा पार्टीबाट बागी उठेकाहरूलाई पछि हटेर गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न पनि आग्रह गरे। ‘गठबन्धनको निर्णयअनुसार हामीले छाडेका हौँ। पार्टीले छाडिसकेपछि बागी उठ्नु गलत हो’, उनले भने, ‘तत्कालै पछि हट्नु होला। हामी केन्द्रबाट पत्र पठाउँछौँ, उक्त पत्रअनुसार बागीबाट पछि हटेमा कारबाही हुने छैन।’

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउने बताएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित गठबन्धनको संयुक्त चुनावी आसभामा देउवाले भने, ‘अहिले गठबन्धनको सरकार छ । फेरि पनि गठबन्धनकाे नै सरकार रहन्छ । गठबन्धनको सरकारले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ । सबैभन्दा बढी बजेट पनि सुदूरपश्चिममै बडाउने विश्वास दिलाउँछु ।’

 

प्रतिक्रिया दिनुहोस