Latest News

बागी उम्मेदवारहरूलाई देउवाले फेरि दिए यस्तो कडा चेतावनी

Nepalese Times May 9, 2022 (1 Year ago)    550 Views

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा पार्टीबाट बागी उठेका जो-कोहीलाई नछाडिने बताएका छन्।

कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधनका क्रममा उनले बागी उम्मेदवारी दिनेहरूको भविष्य पार्टीमा नरहने पनि बताए।

‘बागी उम्मेदवारहरूलाई कुनै हालतमा छाडिने छैन। बागीलाई पार्टीले कारबाही गर्छ, गर्छ’, देउवाले भने, ‘बागीका कारण पार्टी हार्‍यो भने हामी कारबाही गर्छौँ। उनीहरुलाई कुनै ठाउँ छैन।’

देउवाले कैलालीका केही गाउँपालिकामा पार्टीबाट बागी उठेकाहरूलाई पछि हटेर गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न पनि आग्रह गरे।

‘गठबन्धनको निर्णयअनुसार हामीले छाडेका हौँ। पार्टीले छाडिसकेपछि बागी उठ्नु गलत हो’, उनले भने, ‘तत्कालै पछि हट्नु होला। हामी केन्द्रबाट पत्र पठाउँछौँ, उक्त पत्रअनुसार बागीबाट पछि हटेमा कारबाही हुने छैन।’

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउने बताएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित गठबन्धनको संयुक्त चुनावी आसभामा देउवाले भने, ‘अहिले गठबन्धनको सरकार छ । फेरि पनि गठबन्धनकाे नै सरकार रहन्छ । गठबन्धनको सरकारले पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिन्छ । सबैभन्दा बढी बजेट पनि सुदूरपश्चिममै बडाउने विश्वास दिलाउँछु ।’

सुदूरपश्चिमका कारणले आज प्रधानमन्त्री भएको भन्दै देउवाले यहाँको विकास गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । ‘मेरो घर डडेल्धुरा हो थाहा नै छ । यहाँ (कैलाली) बाट पनि मलाई तपाईहरुले जिताउनु नै भएको हो । यो ठाउँ मेलाई अत्यन्तै महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘सुदूरपश्चिमका कारणले म आज प्रधानमन्त्री भएको छु । तपाईहरुको सहयोगले प्रधानमन्त्री भएको हुँ । मैले यहाँको विकास अवश्य गर्ने छु ।’

प्रतिक्रिया दिनुहोस