Latest News

भरतपुर महानगरमा रेनु, विजय र जगन्नाथमध्ये कसले मार्ला बाजी ?

Nepalese Times May 9, 2022 (1 Year ago)    1582 Views

काठमाडौं । चर्चाको केन्द्रमा रहेको चितवनको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ ।

सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

यस्तै नेकपा एमालेले यो पटक भरतपुरमा बलियो उम्मेदवार उठाएको छ । यो पटक देवी ज्ञवालीललाई मेयरको टिकट दिने चर्चा भएपनि अन्तिम समयमा आएर विजय सुवेदीले टिकट पाएका छन् ।

उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको टिकट लिएर मैदानमा आएका हुन् । स्थानीय चुनावको घोषणा भएदेखि नै तरंगित भरतपुर मतदानको दिन नजिकिँदै गर्दा नयाँ–नयाँ आशंका र अनुमानबाट गुज्रिरहेको छ ।

चुनावका दिनसम्म भरतपुरको रणनीतिक लडाइँको मार्गचित्र स्पष्ट तय गरेको छ– गठबन्धनले असन्तुष्ट मत जगन्नाथकोमा जान नदिने, जगन्नाथले कांग्रेसको मत सकेसम्म आफूतिर तान्ने प्रयास जारी राख्ने र यी दुवैको कमजोर कडीमा आफू हाबी हुन एमालेले प्रयास गर्ने ।

यसको छनक रेनु र एमाले उम्मेदवार विजय सुवेदी एकै पटक एकै क्षेत्रको चुनावी प्रचारमा खटिएबाट देख्न सकिन्छ । शनिबार दुवै उम्मेदवारले कांग्रेस बहुल मतदाता भएको क्षेत्र पश्चिम चितवनको हरैया, शारदानगर, चनौली, दिव्यनगरलगायत क्षेत्रमा घरदैलो र कोणसभा गरेका थिए ।

गत स्थानीय निर्वाचनमा सबैभन्दा चर्चामा रहेको महानगरपालिका भरतपुरमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार बनेकी रेनु दाहाललाई नेपाली काँग्रेसले सघाएको थियो ।

मत गणनाको क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि यो महानगरपालिका चर्चाको शिखरमा रहेको थियो । यसपाली पनि कांग्रेससहित पाँच दलीय गठबन्धनले दाहाललाई नै मेयरमा उम्मेदवारी बनाएका छन् । उपमेयरमा नेपाली काँग्रेसका नगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै राप्रपासँग गठबन्धन गर्दै नेकपा एमालेले मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, उपमेयरमा राप्रपाबाट हिमाली गुरुङ उम्मेदवार बनेकी छिन् । अघिल्लो निर्वाचनमा दाहालले ४३ हजार १ सय २७ मत र उनका प्रतिद्धन्द्धी नेकपाल एमालेका देवी प्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए ।

उपप्रमुखमा नेपाली कांग्रेसबाट पार्वती शाह ठकुरीले ४७ हजार १ सय ९७ भोट ल्याएकी थिइन भने नेकपा एमालेबाट दिव्य शर्माले ३९ हजार ५ सय २५ मत ल्याएकी थिइन । भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस