Latest News

प्रचण्डले मागे यी बागी उम्मेदवारलाई भोट, गठबन्धनमा खैलाबैला

Nepalese Times May 9, 2022 (1 Year ago)    695 Views

 

सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न कैलाली आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागी उम्मेदवारका लागि मत मागेका छन् ।

सोमबार बिहान कैलारी कैलारी गाउँपालिकामा माओवादी केन्द्रले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनकै बागी उम्मेदवारलाई मत मागेका हुन् ।

उक्त गाउँपालिकाको हसुलियामा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा प्रचण्डले गठबन्धनको कारवाहीमा परेकी लक्ष्मी सत्गौवा थारुका लागि भोट मागिदिएका हुन्।

उक्त गाउँपालिकामा थारु माओवादी केन्द्रबाट उपाध्यक्षमा उठेकी छन्। ‘कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र उपाध्यक्षमा लक्ष्मी सत्गौवा चौधरीलाई अत्यधिक मतले जिताउन आग्रह गर्दछु,’ प्रचण्डले त्यसक्रममा भने।

सत्ता गठबन्धनबाट गरिएको सिट बाँडफाँटका क्रममा कैलारी गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो। गठबन्धनको सहमतिअनुसार कैलारीको अध्यक्षमा अघिल्लोपटक विजयी लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसबाट भगवती चौधरीले उम्मेदवारी दिएका थिए।

तर दलहरुबीच भएको सहमतिविपरीत कांग्रेसले अध्यक्षमा राजसमझ चौधरीलाई उठाएको थियो। उता माओवादीले लक्ष्मी सत्गौवा थारुलाई उपाध्यक्षको टिकट दिएको थियो।

‘परिवर्तनको रक्षाका निम्ति हाम्रो पार्टीबाट अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवालगायतको टोलीलाई विजयी गराउनुस्’, दाहालले भने, ‘ ‘उहाँहरु दुवैले अघिल्लो कार्यकाल राम्रो काम गर्नु भएको छ। आगामी दिनमा पनि अझै राम्रो कामका लागि उहाँहरुलाई जिताउनुहोला।’

दाहालले गठबन्धनको तस्बिर अझै प्रष्ट नभएको बताउँदै आफ्नो पार्टीका उम्मेदवार एक्लै वा मिलेर आए पनि जिताउनुपर्नेमा जोड दिए।

दाहालले त्यसक्रममा कांग्रेस पछि नहटे एक्लै अघि सर्नुपर्नेमा जोड दिए। ‘गठबन्धन भनेको सबै ठाउँमा झुक्नु र त्याग्नु भन्ने हुँदैन’, दाहालले भने, ‘गठबन्धनको नाममा धोका र बेइमानी मान्दैनौँ। त्यसैले आवश्यकता अनुसार एक्लै अघि बढ्न तयार हुनुपर्छ।’

यसअघि कांग्रेस र माओवादीले पटक पटक आग्रह गरे पनि चौधरी र थारुले उम्मेदवारी फिर्ता लिएका थिएनन्। यस्तोमा सत्ता गठबन्धनले गत वैशाख १९ गते यी दुवै उम्मेदवारलाई कारवाहीको निर्णय लिएको थियो।

प्रतिक्रिया दिनुहोस