Latest News

भोलि मध्यरातिदेखि सीमा नाका बन्द गर्न सरकारको निर्देशन, कहिले खुल्छ ?

Nepalese Times May 9, 2022 (1 Year ago)    691 Views

काठमाडौं । सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न आह्वान गरेको छ । नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् ।

भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न सरकारले भनेको हो ।

मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । अनुमति बेगर सीमाबाट आउ–जाउ गर्न नदिन निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन् ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । मतदानका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरुमात्र गुडाउन पाइने छ ।

कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ । चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ।

अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्दछ ।

चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै भोलिदेखि जाँडरक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस