Latest News

काठमाडौंमा केशव स्थापित, सिर्जना सिंह र बालेन शाहमध्ये को बलियो ?

Nepalese Times May 9, 2022 (1 Year ago)    2384 Views

काठमाडौं । स्थानीय तहको चुनावमा भोट हाल्ने दिन आउन अब केही दिनमात्रै बाँकी छ । उम्मेदवारहरुले प्रचारप्रसार गर्ने समय सकिनै लाग्यो ।

प्रचारप्रसारमा उम्मेदवारहरु व्यस्त भइरहँदा काठमाडौं महानगरपालिकाको मेयरमा कसले बाजी मार्ला ? भन्ने आम चासो चुलिएको छ । मेयर पदका लागि अरु धेरै जनाले उम्मेदवारी दर्ता गराए पनि विशेषगरी ३ जनाको भिडन्त हुने देखिएको छ ।

काठमाडौं महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार सिर्जना सिंह, नेकपा एमालेका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहबीच कडा प्रतिष्पर्धा हुने देखिएको हो ।

हामीले टेकु, त्रिपुरेश्वर, भोटेबहाल, गणबहाल, लगन, ब्रह्मटोल, झोछेँ, वसन्तपुर, मरू, भीमसेनस्थान, यट्खा, इन्द्रचोक, असन, बांगेमुडा, नरदेवी, क्षत्रपाटी, ठमेल लगायत टोलका स्थानीय मतदातामध्ये ३१ प्रतिशत मतदाताले नेकपा एमालेका मेयर उम्मेदवार स्थापितलाई भेट दिने भनेका छन् ।

नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहलाई ५१ मतदाता अर्थात २५.५ प्रतिशतले र स्वतन्त्र उम्मेदवार बालेन शाहलाई १८ प्रतिशत मतदाताले भोट दिने प्रतिक्रिया दिएका छन् ।

नेवार समुदायको बाहुल्य रहेको काठमाडौंमा यसअघि एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ । काठमाडौंमा एमाले सबभन्दा बलियो दल हो।

पाँच वर्षअघिको चुनावमा एमाले मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीलाई झन्डै २० हजार मतले हराएका थिए। त्यतिखेर काठमाडौंका यिनै मुख्य नेवार बस्तीहरूबाट विद्यासुन्दरले आफूभन्दा १२ हजार बढी मत ल्याएको जोशी बताउँछन्।

एमाले नेता तथा सांसद रामवीर मानन्धरले पनि एमालेले त्यो बेला कोर–सिटीबाट १२ हजार बढी मत ल्याएको पुष्टि गरे।

यसरी कोर–सिटीको नेवार समुदायबाट कम मत पाएकै कारण जोशीले कांग्रेसकै उपमेयर हरिप्रभा खड्गीभन्दा कम मत ल्याएका थिए। खड्गीले ५८ हजार भोट ल्याउँदा जोशीले ४५ हजार मात्र पाएका थिए। शाक्यले मेयरमा पाएको ६५ हजार भोट उपमेयरमा खड्गीले पाएभन्दा ७ हजार जति मात्रै धेरै हो।

यसपालि कांग्रेसकी सिर्जना सिंहले कोर–सिटीबाट अघिल्लोपटक जोशीले ल्याएभन्दा धैरै मत ल्याउने आंकलन गरिएको छ । विद्यासुन्दरलाई भोट दिएका मतदातामध्ये धेरैले यसपालि सिर्जनालाई भोट दिन्छु भनेका छन्। तर यसअघि कांग्रेसलाई दिएर यसपालि एमालेलाई दिन्छु भन्नेको संख्या थोरै रहेका छन् ।

अघिल्लोपटक एमालेलाई भोट दिएर यसपालि कांग्रेसलाई दिन्छु भन्ने सबै एमालेका परम्परागत मतदाता होइनन्। तीमध्ये कतिपयले आफू कांग्रेस भए पनि अघिल्लोपटक शाक्यलाई हेरेर मत दिएको बताए।

यस्तै स्वतन्त्र उम्मेदवार बालेन शाहको ‘क्रेज’ पनि ह्वात्तै बढिरहेको छ । उनलाई युवापुस्ताले खुलेर समर्थन गरिरहेका छन् । यो पटकको स्थानीय तहको चुनावमा एमालेका स्थापित र कांग्रेसकी सिंहलाई बालेन शाहका कारण अप्ठ्यारो अवस्था आउन सक्ने आड्कलबाजी गर्न थालिएको छ ।

 

प्रतिक्रिया दिनुहोस