Latest News

रामवीर मानन्धरले गरे प्रकाशमान र सिर्जनासँग गोप्य वार्ता, एमालेमा भुईंचालो

Nepalese Times May 9, 2022 (1 Year ago)    1292 Views

काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री रामवीर मानन्धरले काँग्रेस नेता प्रकाशमान र उनकी श्रीमती तथा काठमाडौं महानगरपालिकामा गठबन्धन दलहरुको तर्फबाट मेयर उम्मेदवार सिर्जना सिंहसँग गोप्य वार्ता गरेका छन् ।

रामवीरले हिजो साँझ ठमेलको एउटा होटलमा गोप्य भेटवार्ता गरेका हुन् । सिंह दम्पत्तिसँग भलाकुसारी गर्न रामवीर साँझ पौने ७ बजे अमृत साइन्स क्याम्पस पछाडिको होटल अलफ्टमा पुगेका हुन् ।

उनीहरु तीन जनाबीच स्थानीय तहको निर्वाचनबारे एक घण्टाबढी समय गोप्य कुराकानी भएको हो । सिंह दम्पत्ति रामवीर पुग्नु अगावै होटलमा पुगेका थिए । रामवीर पौने ७ बजेदेखि ७ बजेको समयमा होटलभित्र छिरेका हुन् ।

भेटघाटपछि मानन्धर राति ८ बजेको हाराहारीमा निस्केको स्रोतको दाबी छ । एमालेको तर्फबाट मेयर उम्मेदवारमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल उठेका छन् ।

यसअघि मेयरको निम्ति एमाले जिल्ला कमिटीले वर्तमान मेयर विद्यासुन्दर शाक्यसहित स्थापित र रामवीरको नाम सिफारिस गरेको थियो ।मेयरमा शाक्यपछि आफ्नो पल्ला भारी भएको अनुमान गरेका मानन्धरले स्थापितले टिकट प्राप्त गरेपछि ‘नसोचेको’ भयो भन्दै हिँडेका थिए ।

एमाले र तत्कालीन नेकपाभित्रको अन्तरविरोधको मौका छोपेर शहरी विकास राज्यमन्त्री बनेका मानन्धरको चाहना पछिल्लो समयमा काठमाडौंको मेयर हुने थियो । यसअघि उनी पटक पटक १६ नम्बर वडाको वडाध्यक्ष भएका थिए । अहिले साे क्षेत्रका सांसद हुन् ।

बालाजु बाइपास घर भएका रामवीरलाई सो क्षेत्रमा सडक बिस्तार गर्ने नाममा आफ्नो घर जोगाएर स्थानीयको घर भत्काएको आरोप लाग्दै आएको छ । उनी अष्टनारायण फिल्म हलका मालिक पनि हुन् । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस