Latest News

भरतपुरमा कांग्रेसबाट बागी उठेका जगन्नाथले एमालेसँग सहकार्य गर्न लागेका हुन् ? यसो भन्छन् सुवेदी

Nepalese Times May 8, 2022 (1 Year ago)    3285 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका असन्तुष्ट समूहबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलमाथि नेकपा एमालेसँगको सम्बन्धबारे प्रश्न उठाइएको छ ।

केन्द्रबाट कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिम प्रयास गर्दासमेत उनले उम्मेदवारी फिर्ता लिन चाहेनन् । बरु उनले नेकपा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई गाली गर्ने पक्षमा आफू नरहेको अभिव्यक्ति दिए ।

नेकपा एमालेका अनगिन्ति कार्यकर्ताहरु रहेका भन्दै उनले उनीहरुले कार्यकर्ताको बलमा चुनाव जितेमा जित्न दिनुपर्ने बताएका हुन् । नेकपा एमालेले चुनाव जितेमा त्यसको भारी आफूलाई बोकाउन नमिल्ने भन्दै उनले त्यसको जिम्म्मेवारी आफूले लिन नसक्ने बताए ।

उनको यो अभिव्यक्तिलगत्तै नेकपा एमालेबाट भरतपुर महाननगरपालिकाको मेयर उम्मेदवार बनेका विजय सुवेदीले प्रतिक्रिया दिएका छन् । सुवेदीले जगन्नाथ पौडेलले एमालेसँग सहकार्य गर्न सक्ने सम्भावनाबारेको प्रश्नको जवाफ दिएका हुन् ।

उनले नेकपा एमालेसँग सहकार्य गर्ने या नगर्ने भन्ने कुरा जगन्नाथ पौडेलको आफ्नै कुरा भएकोले अहिले नै यसै हुन्छ भन्ने अवस्थामा आफू नरहेको बताए ।

पौडेलले एमालेसँग सहकार्य गर्ने कुरामा आफ्नो कुनै भूमिका नरहने भन्दै यो उनीहरुको प्रजातान्त्रिक अधिकार भएको बताए । सुवेदीले नेकपा एमालेसँग सहकार्य गर्ने कुरामा आफ्नो प्रजातान्त्रिक अधिकार प्रयोग गर्न सक्नेसमेत बताए ।

यस्तै उनले राप्रपासँग आफूहरुको गठबन्धन नभई भोटको तालमेल भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूहरुलाई मेयर पदमा सहयोग गर्ने र आफूहरुले राप्रपालाई उपमेयरमा भोट हाल्ने उनले बताए । आफूहरुको सैद्धान्तिक राजनीतिक एकता नभई विकासको लागि एकता भएको बताए ।

यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष उम्मेदवार बालदहरी सुवेदीले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

उनले आफ्ना प्रतिद्धन्दी नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका लिलाबल्लभ भुषाललाई आफ्नो समर्थन रहेको घोषणा गरेका हुन् । उनी जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका हुन् ।

चितवनको भरतपुर महानगरपालिकामा भएको कार्यक्रममा उनले आफूलाई दिने सबै भोट नेकपा एमालेलाई सूर्य चिन्हमा दिनसमेत सबैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस