Latest News

अन्तिम समयमा आएर भरतपुरका सत्तारुढ दलकै उम्मेदवारले गरे एमालेलाई समर्थन

Nepalese Times May 8, 2022 (1 Year ago)    1257 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष उम्मेदवार बालदहरी सुवेदीले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

उनले आफ्ना प्रतिद्धन्दी नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका लिलाबल्लभ भुषाललाई आफ्नो समर्थन रहेको घोषणा गरेका हुन् ।

चितवनको भरतपुर महानगरपालिकामा भएको कार्यक्रममा उनले आफूलाई दिने सबै भोट नेकपा एमालेलाई सूर्य चिन्हमा दिनसमेत सबैसँग आग्रह गरेका छन् । उनी जनता समाजवादी पार्टी जसपाबाट वडा अध्यक्षको उम्मेदवारी दिएका थिए ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको सम्मुखमा ६७ बुँदे अपिल सार्वजनिक गरेका छन् । आफ्ना विरोधी राजनीतिक दल र शक्तिहरूमाथि आक्रोश व्यक्त गर्दै उनले अपिल सार्वजनिक गरेका हुन् ।

पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले ६७ बुँदे लिखित धारणा सार्वजनिक गर्दै सत्ता गठबन्धन, गठबन्धनको नेतृत्वकर्ता दल नेपाली काँग्रेस, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत आफ्ना विपक्षीमाथि आक्रोश पोखेका हुन् ।

उनले एमाले आगामी पाँच वर्षभित्र सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवम् समृद्ध युगमा प्रवेश गराउने प्रतिज्ञाका साथ आम मतदातासमक्ष प्रस्तुत भएको बताएका हुन् ।

त्यसक्रममा ओलीले एमालेमा मात्रै देश विकास गर्ने राष्ट्रिय आँट, सङ्कल्प र आत्मविश्वास भएको भन्दै राष्ट्रिय हितहरूको पक्षपोषण गर्न, तिनको दृढ प्रतिरक्षा गर्न र गुमेका चिजहरू पुनः प्राप्त गर्न सक्ने सामर्थ्यवान्, भरपर्दो र जिम्मेवार राष्ट्रिय शक्ति एमाले रहेको दाबी गरेका छन् ।

‘हामी नेपाललाई राष्ट्रिय स्वाभिमानसहितको दरिलो एवम् गर्विलो राष्ट्र बनाउन चाहन्छौँ, त्यो एमाले बिना सम्भव छैन । कुनै दल विशेषलाई पराजित गर्नु एमालेका लागि प्राथमिक चासोको विषय होइन, हाम्रो मुख्य ध्येय त नेपालको विकास गर्ने हो, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने हो, नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने हो’, ओलीले भनेका छन् ।

उनले राष्ट्रिय एकतालाई कमजोर पार्ने, कुनै नाम वा बहानामा अखण्डतालाई अपमान गर्ने र देशभक्तिलाई होच्याउने कुरा नेकपा एमाले कुनै हालतमा नस्विकार्ने भन्दै विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव, न्याय र समतामूलक व्यवहार कायम गरी राष्ट्रिय एकता मजबुत राख्ने क्षमता एमालेमा रहेको उल्लेख गरे ।

अन्य राजनीतिक दलहरू अनिश्चयबाट ग्रसित र विवश भएको स्वयम् दलहरूले सार्वजनिक गरिरहेको दाबी गरेका ओलीले स्थापनाकालदेखि आजसम्म एमाले निरन्तर स्पष्टताका साथ यिनै आदर्शमा अडिग छ र अटल रहेको बताए ।

पत्रकार सम्मेलनमा ओलीले नेपाली काँग्रेसमाथि १० बुँदामा प्रहार गरेका छन् । उनले काँग्रेसकै कारण एमालेले अघि बढाएको विकास र समृद्धिको यात्रामा अवरोध पुगेको निष्कर्ष समेत निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस