Latest News

भरतपुरका मेयर उम्मेदवार पौडेलले कांग्रेसको झण्डा प्रयोग गर्न नपाउने, यस्तो छ आयोगको निर्देशन

Nepalese Times May 7, 2022 (1 Year ago)    1294 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार जगन्नाथ पौडेलले नेपाली कांग्रेसको झण्डा प्रयोग गर्न नपाउने भएका छन् ।

यसअघि स्वतन्त्र उम्मेदवार भए पनि नेपाली कांग्रेसको झण्डा प्रयोग गर्दै आएका पौडेलसहितका उम्मेदवारहरुले अरु पार्टीको झण्डा प्रयो गर्न नपाउने भएका हुन् ।

निर्वाचन आयोगले सम्बन्धित दल तथा दलका उम्मेदवार बाहेक अन्य उम्मेदवारहरुले अरु दलको झण्डा प्रयोग नगर्न निर्देशन दिएलगत्तै पौडेलसहित अरु बागी उम्मेदवारहरुलाई समेत धक्का लागेको हो ।

गठबन्धन गरेर चुनावमा गएका दल तथा केही स्वतन्त्र उम्मेदवारले समेत अन्य दलको झण्डा प्रयोग गरेका दृष्य विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत देखिएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

आयोगले उम्मेदवारसँग सम्बन्धित दलका झण्डा मात्रै प्रयोग गर्न निर्देशन दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने व्यवस्था गरेको भन्दै आयोगले फरक दलको झण्डा बोकेर मतदातालाई भ्रमित नपार्न आग्रह गरेको छ ।

प्रचार प्रसारको क्रममा एउटा उम्मेदवारले अर्कै दलको झण्डा र चिन्ह प्रयोग गरेमा मतदातालाई भ्रम सिर्जना हुने भएकाले यस्ता क्रियाकलापलाई आचारसंहिता उल्लङ्घन गरेको मानी कानून बमोजिम कारवाही तथा सजाय हुने आयोगले जनाएको छ ।

अहिले दलहरुले चुनावी गठबन्धनको नाममा फरक दलको झण्डा प्रयोग गरेका छन् भने दलबाट बागी उम्मेदवारी दिएर स्वतन्त्र उम्मेदवारको मान्यता पाएका उम्मेदवारले पनि पार्टीकै झण्डा प्रयोग गरेर प्रचार प्रसार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस