Latest News

एमालेलाई धेरै गाली नगरौँ, उसको ताकतले चुनाव जिते जित्छन्ः जगन्नाथ पौडेल (भिडिओसहित)

Nepalese Times May 7, 2022 (1 Year ago)    910 Views

काठमाडौं । चितवनको भरतपुर महानरपालिकाका मेयर उम्मेदवार जगन्नाथ पौडेलले एमालेलाई धेरै गाली गर्ने पक्षमा आफू नरहेको बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुले अन्तिम प्रयास गर्दासमेत पछि हट्न तयार नभएका उनले नेकपा एमालेलाई गाली गर्ने पक्षमा आफू नरहेको बताएका हुन् ।

नेकपा एमालेका अनगिन्ति कार्यकर्ताहरु रहेका भन्दै उनले उनीहरुले कार्यकर्ताको बलमा चुनाव जितेमा जित्न दिनुपर्ने बताएका हुन् । नेकपा एमालेले चुनाव जितेमा त्यसको भारी आफूलाई बोकाउन नमिल्ने भन्दै उनले त्यसको जिम्म्मेवारी आफूले लिन नसक्ने बताए ।

रेनु दाहाललाई पछाडि हटाएर जगन्नाथलाई अगाडि बढाउनका लागि आफ्नो पार्टीबाट कोही नबोलेको भन्दै उनले पार्टीकै हितका लागि आफूले काम गर्दा कारबाही भोग्नुपरेको गुनासो गरे ।

नेपाली कांग्रेसले आफूमाथि कारबाही गरेपनि आफ्नो पछाडि रहेका लाखौं नेता, कार्यकर्ता र जनतालाई कारबाही गर्न देउवा असक्षम रहेको उनले बताए । उनले प्रश्न गर्दै भने, ‘मेरा पछाडि जो लाखौँ मान्छे छन्, तिनलाई कारबाही गर्ने ताकत छ ?’

आफूले कुनै पनि पार्टीलाई आलोचना गर्न नचाहेको र सबैलाई सम्मान गर्न चाहेको भन्दै उनले नेकपा एमालेले जित्यो भने उसको ताकतले जित्ने बताए ।

जगन्नाथका कारण गठबन्धनमा समस्या आएको भन्दै उनले आफू भुईँ मान्छे भएको र पार्टीको महाधिवेशनमा हारेको मान्छेसँग रेनु दाहाललाई हराउन सक्ने ताकत नरहेको बताए । आफू एउटा साधारण मान्छे भएको र ३२ जना मेयरका उम्मेदवारमध्ये आफू पनि एक भएको उनको तर्क छ ।

आफ्नो कारण गठबन्धनमा कुनै समस्या नरहेको र गठबन्धनकोसमेत कुनै मतलव नरहेको भन्दै उनले आफूले एउटा नागरिक अधिकारको प्रयोग गरेर उम्मेदवारी दर्ता गरेको बताए । आफूले सामान्य नागरिक सरह उम्मेदवारी दर्ता गर्दा गद्दी नै हल्लिनुपर्ने कुनै कारण नरहेको उनले बताए ।

‘मैले अरु साधारण नागरिक सरह अधिकार प्रयोग गर्दा माथि गद्दी हल्लिनुपर्ने के कारण छ ?’ उनले प्रश्न गर्दै भने, ‘मैले यो प्रश्नको जवाफ माग्दा तपाई कांग्रेसको ठूलो मान्छे होस्, जनताले तपाईंको भरोसा गर्छ । तपाईको कारणले हाम्रो गद्दी डगमगाउने भयो भनेर जवाफ आयो ।’

उनले २० वर्षदेखि नेपाली कांग्रेसले आफूलाई विर्सेको गुनासोसमेत गरे । आफू कांग्रेसको हो भन्ने कुरा नेपाली कांग्रेसलाई अत्तोपत्तो नभएको भन्दै उनले नेतृत्वले हरेक अवसर आफ्नो खल्तीबाट निकालेर आफ्नो मान्छेलाई दिएको बताए ।


यस्तै उनले आफ्नो उम्मेदवारीप्रति सत्ता गठबन्धनका नेताहरूले स्तरहीन टिप्पणी गरेको आरोप लगाएका छन् । आफू मेयरमा उठ्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश बर्बाद हुने टिप्पणी गरेको भन्दै उनले आफूलाई ग्लानी भएको बताए ।

शनिबार भरतपुरमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र आएको छ, कुनै व्यक्तिले चुनाव लड्छु भन्दैमा आकाश खस्छ ? भन्दै प्रश्नसमेत गरे । उनले भने, ‘कुनै व्यक्तिले चुनाव लड्छ जित्ला, कसैले हार्छ । यो त लाखौं मान्छेले सहभागिता जनाउने कार्यक्रम हो । प्रधानमन्त्री भएका व्यक्तिले यस्तो टिप्पणी गर्दा मलाई आत्मग्लानी भयो । ‘

गठबन्धनसँग आफ्नो सम्बन्ध नभएको भन्दै उनले भने, शमेयर उठ्दा देशै बर्बाद हुनेभयो, गठबन्धन टुट्ने भयो । आकाश खस्ने भयो । पाताल भासिने भयो । अचम्मै भयो ।’ राष्ट्रलाई बाटो देखाउनुपर्ने कांग्रेस अर्को पार्टी र नेताको भुलभुलैमा लागेर आफ्नो पार्टी र कार्यकर्ता बिर्सिएकोसमेत उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस