Latest News

माधव नेपाललाई कुलंघार भन्दै ओलीले लगाए यस्तो आरोप

Nepalese Times May 6, 2022 (1 Year ago)    634 Views

एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल आफ्नै पार्टी सक्ने कुलंघार रहेको आरोप लगाएका छन्। एमाले रौतहटले गौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे ओलीले यस्तो बताएका हुन्।

सत्तागठबन्धनले चितवनमा आयोजना गरेको चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए। एमालेलाई कुहिएको फर्सी भन्ने माधव नेपाल आफैँ कुहिँदै गएको ओलीको आरोप छ। नेपाल एमालेमा रहुन्जेल आफूलाई रौतहटमा टेक्नसमेत नदिइएको ओलीले बताए।

आफ्नो सरकारको पालामा सुनकोसीको पानी रौतहटसम्म ल्याउने काम सुरु भएको भन्दै उनले अबको केही वर्षपछि रौतहटको सुक्खा भूमि सिँचित हुने बताए।

आजभन्दा ४९ वर्ष पहिला आफू गौर जेलमा बसेको र रौतहटमै पार्टीको काम गरेकाले यहाको समस्यासँग आफू परिचित रहेको उनको दाबी छ। अध्यक्ष ओलीले सत्तागठबन्धनले आफ्नो पार्टीलाई कुनै फरक नपर्ने बताउँदै गौरमा एमालेका उम्मेदवारलाई जिताउन मतदातासँग आग्रह गरे।

उता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले दक्षिणपन्थी विचारको नेतृत्व गरिरहेको टिप्पणी गरेका छन् ।सत्तारुढ गठबन्धनले शान्तिवाटिकामा गरेको चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले ५ दलीय गठबन्धन परिवर्तन पक्षधरको भएको बताए ।

‘एमालेले दक्षिणपन्थीहरूको नेतृत्व गरिरहेको छ । केपी ओलीले राजावादी, दक्षिणपन्थी, परिवर्तनविरोधी, संविधानविरोधीहरूसँग गठबन्धन गरेका छन् । प्राप्त उपलब्धीको रक्षा गर्ने ,संविधान जोगाउने , समाजवाद र सुशासनको पक्षमा रहेकाहरु, गणतन्त्रका हिमायतीहरु यो गठबन्धनमा छौं’, नेपालले भने ।

मुलुकमा रहेका २ गठबन्धनमध्ये कुन रोज्ने भन्ने निर्णय जनताले वैशाख ३० मा गर्नुपर्ने नेपालले बताए ।नेपालको राजनीतिमा दम्भ देखाउनेहरू ओरालो लाग्ने क्रम सुरू भएको भन्दै अध्यक्ष नेपालले दम्भ गर्नेहरूलाई जनताले तह लगाउने बताए ।

‘गफैगफले जनतालाई अल्मल्याउन सकिन्छ भनेर कसै कसैले सोचेका होलान् तर जनता गफाडीको गफमा भुल्दैनन्’, नेपालले भने ।

गठबन्धनको जित सुनिश्चित रहेको बताउँदै नेपालले विपक्षी उम्मेदवारहरूको गतिविधि ठीक नभएको बताए । काठमाडौं महानगरलाई व्यवस्थित सहर र संस्कृतिको संरक्षणका लागि गठबन्धनका उम्मेदवारहरुको जित अत्यावश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस