Latest News

कांग्रेस नेता अफताव आलमबारे सर्वोच्च अदालतले जारी गर्यो यस्तो आदेश

Nepalese Times May 6, 2022 (1 Year ago)    805 Views

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम थुनामै रहने भएका छन्। सर्वोच्च अदालतले पनि उनलाई मुद्दाको अन्तिम फैसला नहुन्जेल थुनामै राख्ने जिल्ला अदालत र उच्च अदालतको आदेश सदर गरेको हो।

सर्वोच्च अदालतमा न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार सुनुवाइ भएको हो। सुनुवाइपछि आदेश जारी गर्दै आलतमलाई थुनामुक्त गर्न नमिल्ने जनाएको हो।

नेता आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा छ।

जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालतमा गएका थिए।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले पनि उनलाई थुनामा राख्ने जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका थिए।आलमलाई पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा राखिएको छ।

आलमलाई तीन वटा मुद्दामा ३२ वर्ष कैदको माग गरिएको छ। बम बिस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दा उनीविरुद्ध दर्ता भएको हो।मुद्दाको अन्तिम फैसला बाँकी नै। फैसला नहुन्जेल उनी कारागारमै रहने निश्चित भएको छ।

प्रतिक्रिया दिनुहोस