Latest News

सकियो सत्ता गठबन्धनको बैठक, गर्यो यस्ता ४ महत्वपूर्ण निर्णय

Nepalese Times May 6, 2022 (1 Year ago)    829 Views

पाँच दलीय सत्ता गठबन्धनले बागी उम्मेदवारहरूको उम्मेदवारी निष्कृय गराउने निर्णय गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयको शुक्रबार बसेको बैठकले गठबन्धनभित्रकै दलबाट बागी उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी सम्बन्धित दलले निष्कृय गराउने निर्णय गरेको हो ।

साथै बैठकले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र सौहार्द्र तवरले सम्पन्न गराउनका लागि गठबन्धनमा रहेका सबै राजनैतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिवद्ध रहने निर्णय गरेको छ ।

बैठकले बागी उम्मेदवारकाबारे हरेक दलले एक अर्कालाई जानकारी गराउनुपर्ने समेत निर्णय गरेको छ । स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धनका दलहरू बीचमा असमझदारी सिर्जना भएमा आपासी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सचिवालय क्रियाशील रहने निर्णय समेत गरिएको छ ।

त्यस्तै स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धन दल बाहेक अन्य राजनैतिक दलहरुसँग असहमति वा असझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलहरूबीच मतैक्यता कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहनेछ ।

पाँच दलीय गठबन्धनको यसअघिको बैठकले बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारवाही गर्ने निर्णय गरेको थियो । बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिने बागीलाई सम्बन्धित पार्टीले कारवाही गर्न निर्देशन दिएको थियो ।

त्यस्तै कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जिल्लाहरूमा पार्टीका कार्यकर्तामाथि कुटपिट हुने गरेका घटना बढेपछि आज पार्टी केन्द्रीय कार्यालयमा बैठक गरेर छलफल गरिएको बताए।

‘जिल्लाहरूमा कांग्रेसका साथीहरूमाथि कुटपिटका घटना भएका विवरण आएपछि हामीले सत्तागठबन्धनभित्र रहेका सबै दलका सचिवालयमा रहेका प्रतिनिधिलाई सानेपा बोलाएर आज बिहान बैठक गरियो,’ पौडेलले भने, ‘घटना नदोहोरियोस् भनेका छौं। हाम्रा कार्यकर्ता नकुट्नू भनेका छौं।’

जिल्लाहरूमा दलहरूभित्र देखिएका विवाद अन्त्य गर्दै सम्बन्ध सुमधुर बनाउने विषयमा आज छलफल भएको थियो। ‘कुटाकुट जस्ता घटना अबदेखि दोहोरिँदैनन् भन्नेमा एकआपसमा आश्वस्त भएका छौं। अब घटना घट्दै जान्छन्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस