Latest News

चितवन पुगेर प्रचण्डले धम्क्याएको भन्दै मेयर उम्मेदवार जगन्नाथले दिए कडा प्रतिक्रिया

Nepalese Times May 6, 2022 (1 Year ago)    820 Views

काठमाडौं । बिहीबार चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यदि गठबन्धनलाई भोट हालियो भने आफू उत्साहित भएर यो गठबन्धनलाई १०–२० वर्षसम्म लैजाने बताए ।

उनले यति मात्रै भनेनन्, भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाललाई नजिताउने हो भने गठबन्धन अर्कै स्वरुपमा परिवर्तन हुने र देश दुर्घटनामा जानेसमेत बताए ।

उनले अहिले पनि नेकपा एमालेका नेताहरु दुई दलबीच मिल्ने प्रस्ताव लिएर आएको खुलासा भन्दै नेपाली कांग्रेसका नेताहरुलाई थर्काउने कामसमेत गरे ।

एमालेका केही नेताहरुले अहिले पनि मिलौं भनिरहेका भन्दै उनले सत्ता गठबन्धनका अन्य नेताहरुलाई झस्काउँदै भने, ‘तर मैले हुन्न भनेको छु। म अहिले यही गठबन्धनलाई १५–२० वर्षसम्म लैजाने योजनामा रहेको जवाफ दिएको छु।’ उनले यो गठबन्धन राष्ट्र जनता र देशको आवश्यकता हो भनेर भोट हालेमा गठबन्धनलाई २० वर्षसम्म लैजाने बताए।

विगतमा पनि एमालेसँग गठबन्धन र पार्टी एकता गरेको स्मरण गर्दै उनले यदि भरतपुरमा जित्ने अवस्था नआएमा नयाँ गठबन्धन बन्न सक्ने बताए । आफू गतिशील र सिर्जनशील मान्छे भएको तर अस्थिर नभएको भन्दै उनले कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई थर्काउने कामसमेत गरे ।

उनले भने, ‘शेरबहादुरजीले नेपालमा राजनेता जन्मियो भनेपछि मैले गठबन्धन फेरेँ । यो गठबन्धन राष्ट्रको आवश्यकता हो, लोकतन्त्र र विकासको आवश्यकता हो । नबुझेर भोट हाल्नु भएन भने देश दुर्घटनामा जान सक्छ।’

प्रचण्ड चितवन गएर आफ्नो अभिव्यक्ति सार्वजनिक गरेलगत्तै नेपाली कांग्रेसको् असन्तुष्ट समूहबाट स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले पनि प्रतिक्रिया दिएका छन् ।

भरतपुरमा माओवादी केन्द्रका उम्मेदवारले हार बेहोर्ने अवस्था आयो भने यसको जिम्मेवारी बागी उम्मेदवारहरुले लिनुपर्ने भनेर प्रचण्डले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै पौडेलले सर्वसत्ताबादी चिन्तनको सोचाको उपजको रुपमा यस्तो अभिव्यक्ति आएको बताए ।

आफूले गरेको ठिक र अरुले गरेको सबै बेठिक भन्ने शैली प्रचण्डले देखाएको भन्दै उनले आफू गठबन्धन विरोधी नभएकोले गठबन्धनको जिम्मेवारी लिन नसकिने बताए ।

चुनावमा भाग लिएर स्वतन्त्र उम्मेदवार भएर देश दुर्घटनामा जाने कुरा गलत रहेको भन्दै उनले भीडलाई आफूतिर आकर्षित गर्नका लागि प्रचाण्डले प्रचारबाजी कुरा मात्रै गरेको र चुनाव हारिन्छ कि भन्ने डरले धम्क्याउने कुरा भएको बताए ।

आफूले संविधान बमोजिम आफ्नो अधिकार प्रयोग गर्न चाहेको भन्दै उनले आफूले उम्मेदवारी दिएकै कारण देश दुर्घटनामा जान्छ भन्नु सरासर गलत रहेको बताए । राजनीतिक पार्टीहरुबीच समझदारी नबनेको कारण मात्रै देश दुर्घटनामा जाने भन्दै उनले आफ्नी छोरीले हारेमा देश दुर्घटनामा जान्छ भन्नु भ्रमको खेती गर्नु रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस