Latest News

ओलीमाथि गगन थापाले लगाए गम्भीर आरोप

Nepalese Times May 6, 2022 (1 Year ago)    524 Views

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको भन्दै गम्भीर आरोप लगाएका  छन्।

प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिबारे जानकारी गराउनु पर्ने पनि बताए।

महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाए। उनले कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने पनि बताए।

महामन्त्री थापाले कम्युनिष्ट पार्टीहरुले जनताले देश विकासका लागि जिताएर पठाए पनि ५ वर्षको अवसर खेर फालेकोले त्यसको लागि जनतासमक्ष क्षमा, याचना माग्नुपर्ने बताए।

‘२०७४ देखि २०७९ सालसम्म यो ५ वर्षसम्मको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले पाएको हो। उसैले आज २०७९ सालको चुनाव गराउनु पर्दथ्यो। प्रदेश, स्थानीय, संघको चुनाव। यो ५ वर्षमा उसले गरेको उपलब्धिको आधारमा चुनावमा जानुपर्दथ्यो। आज जुन मुद्दाहरूमा चुनाव लडिँदै छन् यी मुद्दाहरु यो चुनावमा हुनुपर्ने नै होइन’, उनले भने, ‘त्यसकारण यो ५ वर्ष खेर गयो भन्ने हाम्रो आफ्नो ठम्याइ हो। ५ वर्ष खेर फाल्नेले त्यसको जवाफ जवाफ नदिई, माफी नमागी मञ्चमा उभिएर नेपाल कम्युनिष्ट पार्टीको नेता, नेपाल कम्युनिष्ट पार्टीभित्रका सबै घटकहरुले र मूलतः नेपाल कम्युनिष्ट पार्टी भित्रको नेकपा एमालेको आजको अध्यक्षले जसले जिम्मा लिनुपर्छ।’

एकपटक जनताबीच उभिएर एमाले अध्यक्ष ‌ओलीले सरकार चलाउन नसकेको भन्दै माफी माग्नुपर्ने उनको तर्क थियो। ‘मैले चलाउन सकिन, यसको लागि मलाई क्षमा देऊ, मैले ५ वर्ष संसद चलाउन सकिन। मैले ५ वर्षको अवसरलाई प्रयोग गर्न सकिन भन्ने कुराको क्षमा एकपटक नमागी, माफी नमागी जनतासँग मत माग्ने नैतिक आधार पनि छैन’, उनले ओलीलाई भने।

महामन्त्री थापाले अबको ५ वर्ष नेपाली कांग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको बताए। उनले समुन्नत नेपाल निर्माण गर्ने संकल्प नेपाली कांग्रेससँग रहेको पनि स्पष्ट पर्नुभयो। महामन्त्री थापाले अबको ५ वर्ष कांग्रेसले खेर फाल्न नचाहेको बताए। उनले विगतका ५ वर्षमा कम्युनिष्टहरुले खेर फालेको समयलाई कांग्रेसले त्यो क्षतिलाई पूरा गर्ने गरेर काम गर्ने दाबी गर्नुभयो।

महामन्त्री थापाले भन्नुभयो, ‘समुन्नत नेपाल निर्माण गर्ने हामीसँग संकल्प पनि छ। हामीसँग योजना पनि छ। ५ वर्ष यही गरिनुपर्थ्यो। ५ वर्ष खेर गयो। हामी अबको ५ वर्ष खेर फाल्न चाहँदैनौँ। २०७९ देखि २०८४ सालसम्मको ५ वर्ष यो संकल्प हामी पूरा गर्न चाहन्छौँ। यो वाचा पूरा गर्न चाहन्छौँ। यो संकल्प र वाचा पूरा गरेर हामी गएको ५ वर्षको जुन क्षति छ, त्यो क्षतिलाई पनि पूरा गर्न चाहन्छौँ। हामीले समुन्नत नेपाल भन्ने संकल्प अघि सार्दै गर्दा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोईरालाले सार्नुभएको समुन्नत नेपालको बारेमा सोच्ने हो। त्यसमै टेकेर हामीले हाम्रो अगाडिको यात्रा तय गर्ने कोशिस गर्नेछौँ।’

प्रतिक्रिया दिनुहोस