Latest News

चितवनको कार्यक्रमलगत्तै प्रचण्डलाई एमालेका नेताहरुको टेलिफोन, गठबन्धनमा खैलाबैला

Nepalese Times May 5, 2022 (1 Year ago)    1551 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि नेकपा एमालेका नेताहरु दुई दलबीच मिल्ने प्रस्ताव लिएर आएको खुलासा गरेका छन् ।

चितवनको कार्यक्रमलगत्तै पनि अध्यक्ष प्रचण्डलाई नेकपा एमालेका नेताहरुले एकीकृत भएर अघि बढ्न भन्दै टेलिफोन गरिरहेका स्रोतले जनाएको छ । तर अध्यक्ष प्रचण्डले अहिले एमालेसँग एकता गरेर अघि बढ्ने अवस्थामा आफू नरहेकाे बताएका छन् ।

एमालेका केही नेताहरुले अहिले पनि मिलौं भनिरहेका भन्दै उनले सत्ता गठबन्धनका अन्य नेताहरुलाई झस्काउँदै भने, ‘तर मैले हुन्न भनेको छु। म अहिले यही गठबन्धनलाई १५–२० वर्षसम्म लैजाने योजनामा रहेको जवाफ दिएको छु।’ उनले यो गठबन्धन राष्ट्र जनता र देशको आवश्यकता हो भनेर भोट हालेमा गठबन्धनलाई २० वर्षसम्म लैजाने बताए।

विगतमा पनि एमालेसँग गठबन्धन र पार्टी एकता गरेको स्मरण गर्दै उनले यदि भरतपुरमा जित्ने अवस्था नआएमा नयाँ गठबन्धन बन्न सक्ने बताए । आफू गतिशील र सिर्जनशील मान्छे भएको तर म अस्थिर नभएको भन्दै उनले बताए ।

उनले भने, ‘शेरबहादुरजीले नेपालमा राजनेता जन्मियो भनेपछि मैले गठबन्धन फेरेँ । यो गठबन्धन राष्ट्रको आवश्यकता हो, लोकतन्त्र र विकासको आवश्यकता हो । नबुझेर भोट हाल्नु भएन भने देश दुर्घटनामा जान सक्छ।’

२०७४ को स्थानीय निर्वाचनमा भरतपुरमा कांग्रेससँग मिलेर जितेपछि एमालेसँग गठबन्धन गरेको स्मरण गराउँदै उनले यदि हँसिया हथौडामा भोट नझरेमा अर्को गठबन्धन बन्न सक्ने संकेत गरे।

यदि गठबन्धनलाई भोट हालियो भने आफू उत्साहित भएर यो गठबन्धनलाई १०–२० वर्षसम्म लैजाने भन्दै उनले एक्लै हिँड्न रुचाउनेलाई नेपालको इतिहास नजिकबाट नियाल्न आग्रह गरे ।

यस्तै उनले नेपाली कांग्रेसले बोल्ने ‘जय नेपाल’ बोलेका छन्। पाँचदलीय सत्ता गठबन्धनको भरतपुरमा जारी चुनावी सभा सम्बोधन गर्दै उनले कांग्रेसले सम्बोधनका क्रममा बोल्ने ‘जय नेपाल’ बोलेका हुन्।

‘लालसलाम र जय नेपालको अभिवादन,’ अध्यक्ष प्रचण्डले चुनावी सभाका अतिथि र दर्शकलाई सम्बोधन गर्दै भने। उनले लालसलाम र जय नेपालको सम्बन्ध २०४६ को जनआन्दोलनबाट सुरु भएको पनि स्मरण गरे।

‘लालसलाम र जय नेपालको सम्बन्ध थोरै सुरुवात ०४६ को जनआन्दोलनबाट भएको हो,’ प्रचण्डले भने, ‘०४६ को जनआन्दोलन अगाडि पञ्चायतविरोधी संघर्षमा हुँदासम्म एकता र सहकार्यलाई बडो नकारात्मक ढंगले हेर्ने गरिन्थ्यो।’

उनले कांग्रेस चितवनका नेता कृष्णलाल सापकोटाप्रति लक्षित गर्दै वृद्ध साथीहरुले कुरा नबुझेको भन्दै चित्त दुखाए। ‘वृद्ध साथीहरुले पनि नकारात्मक टिप्पणी गरेको सुनेँ। तपाईंहरुले रुख र हँसिया हथौडा चिह्नको कुरा गर्नु भएको छ। २०४६ सालको आन्दोलनदेखि नै हँसिया हथौडा र रुखसँगै हिँडेका थिए’, उनले भने, ‘के रुख र हँसिया हथौडा सहकार्य गर्नु हुँदैन थियो? गिरिजाप्रसादले अन्त्यसम्म लगाएको सहमति र सहकार्यको नारा गलत थियो र? मैले साँच्चिकै तपाईंहरुको अगाडि उभिएर भन्दै गर्दा रुखवालाले हँसिया हथौडामा भोट हाल्न गाह्रो मानेको देखेँ।’

उनले गठबन्धनलाई लिएर आफूले ठूलै सपना देखेको बताए। ‘सपना त ठूलै देखिएको थियो। यो गठबन्धनलाई १०/१५ वर्ष लैजाने भनेर शेरबहादुरजी र मैले छलफल गरेका थियौँ’, उनले भने, ‘मैले व्यवहारमा आउँदा सहज देखेको थिइनँ। त्यसले हामीलाई बडो चिन्तित तुल्यायो। यसअघि वामपन्थी-वामपन्थी मिल्दा पो देशमा राजनीतिक स्थायित्व ल्याउन र चुनावमा भोट हाल्न सकिन्छ भनेर गठबन्धन बनाएको हो। म गतिशील र सिर्जनशील मान्छे हो तर म अस्थिर होइन।’

उनले आफूलाई गठबन्धन ‘तैँले भत्काउने होस् कि ?’ भन्ने प्रश्न आएको भन्दै विश्वास गर्न आग्रह गरेका हुन् ।“गठबन्धन गर्न बूढानीलकण्ठ जाँदा कांग्रेसका साथीहरूले केपी ओलीसँग एकता गर्दा के पाउनुभयो खै भनेर सोध्नुभएको थियो,” प्रचण्डले भने, “मेले ज्ञान प्राप्त गरेँ भनेर त्यति बेला भनेको थिएँ । चितवनवासीसँग आग्रह गर्छु, मैले निकै ठूलो मूल्य चुकाएर ज्ञान पाएर आएको छु । ममाथि शंका नगर्नुहोस् ।”

प्रतिक्रिया दिनुहोस