Latest News

भरतपुरमा रेनुलाई भोट माग्दै प्रधानमन्त्री देउवाले के-के भने ?

Nepalese Times May 5, 2022 (1 Year ago)    724 Views

प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिका मेयरकी उम्मेदवार रेणु दाहालका लागि भोट मागेका छन् । बिहीबार भरतपुरमा भएको ५ दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले आफ्नै साथीहरुको सहयोगमा रेणुलाई मेयर छाडेको बताएका हुन् ।

उनले अहिले गठबन्धन आवश्यक रहेकोले यसलाई बचाउन आग्रह गरे । उनले भने–‘यो गठबन्धनका पार्टीहरूले नै मलाई प्रधानमन्त्री बनाएका हुन् । गठबन्धनप्रति मेचीदेखि महाकालीसम्म नेपाली काँग्रेसका जनताको भरोसा भएर नै ८२ प्रतिशत भोटले पार्टी सभापति भएको हुँ । ८२ प्रतिशत जनताको प्रतिनिधिले भोटले मलाई जिताएकोले गठबन्धन प्रति जनताको विश्वास रहेको पुष्टि हुन्छ ।’

उनले रेणुलाई कुनै पनि अवस्थाबाट सहयोग गर्न आग्रह गरे । उनी कुनै पनि बेरुजु नभएको सबै फर्स्योट गरेको मेयर रहेको बताए ।

उनले भने–‘भरतपुरको टोल टोलमा सडक पिच गरेकोले काठमाडौँको भन्दा बढी जग्गाको भाउ बढेको छ । यो सानो कुरा हो ? उहाँ अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने लागिरहनु भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन लाग्नुभएको छ । यहाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्नेछ । उहाँले गरिरहेको काम यहाँका साथीहरूका लागि हो । यस्तो काम गरेको मान्छे यहाँका लागि नभए अरू को उम्मेदवार हुन सक्छ ?’

उनले एक्लै कुनै पनि पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नभएकोले गठबन्धन नभई अगाडि बढ्न सक्ने अवस्था नभएको बताए । देउवाले भने–‘यस्तो राम्रो काम गर्ने मान्छेलाई हराए जनताले के भन्लान् । यस्तो राम्रो काम गर्नेलाई धन्यवाद दिएर अघि बढाउनुपर्छ । उहाँले जितिसक्नुभएको छ ।

साथीहरूलाई कुनै बखेडा नगर्नका लागि आग्रह गर्दछु । उनले गठबन्धन टुटाउन ठुलो षड्यन्त्र रहेको बताउँदै भरतपुरबाट त्यो षड्यन्त्रलाई कुनै हालतमा सफल हुन नदिने बताए ।​

उनले माओवादीसँगको गठबन्धनलाई लिएर यहाँ मात्रै चर्को विरोध भइरहेको पनि गुनासो गरे।

‘मैले गठबन्धनको विरोधको आवाज यहाँ मात्रै सुनेँ, अन्त सबैतिर गठबन्धनको पक्षमै माहोल देखिएको छ’, ‘अन्त विरोध छैन, यहाँ मात्रै विरोध छ। गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। यदि त्यसो भयो भने हाम्रो पार्टी पनि बिग्रिन्छ, खत्तम हुन्छ।

भोलि हाम्रा पार्टीका साथीहरुले अवसर पाउनुहुन्छ। तर आज यस्तो राम्रो काम गर्नेलाई हरायो भने यहाँका जनताले के भन्लान्, देशवासीले कसो भन्लान्?’

देउवाले सत्ता गठबन्धन टुटाउने षडयन्त्रमा फसिए पार्टी खत्तम हुने पनि बताएका छन्। ‘गठबन्धन टुटाउने ठूलो षड्यन्त्र छ। यो षडयन्त्रमा फस्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ। उहाँ (प्रचण्ड) को पनि त्यही हो,’ सभापति देउवाले भने।

प्रतिक्रिया दिनुहोस