Latest News

भरतपुरका बागी उमेदवार पौडेललाई माधव नेपालले दिए यस्तो चेतावनी

Nepalese Times May 5, 2022 (1 Year ago)    799 Views

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र (बागी) उमेदवार जगन्नाथ पौडेललाई उमेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

बिहीबार भरतपुरमा आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभामा उनले उमेदवारी फिर्ता नलिए जनताले ‘देखाइदिने’ चेतावनी दिए ।

“तपाईंहरूले साँच्चै राजनीतिलाई निष्ठा, आदर्शको विषय बनाउनुभएको छ भने व्यक्तिगत कुण्ठाको आधारमा नचल्नुस् । पार्टीभित्र समस्या हुन सक्दछन्,” उनले भने, “त्यसलाई बसेर हल गर्न सकिन्छ । अहिले पनि आफ्नो उमेदवारी वक्तव्य दिएर फिर्ता गर्नुस् । हैन, तपाईंले फिर्ता लिनु भएन भने जनताले नै फैसला गर्नेछन् । जनताले रेनु (दाहाल) र चित्र (अधिकारी)को कम्बिनेसलाई जिताउन लागिपर्नेछन् ।”

त्यस्तै अध्यक्ष  नेपालले चितवनमा आयोजित कार्यक्रमा बोल्दै केपी ओलीको व्याख्या शेषनागले पनि व्याख्या गर्न नसक्ने बताए । ओली झुटको पुलिन्दा भएकाले उनको व्याख्या गर्न नसकिने उनले बताए । ‘केपी ओलीको व्याख्या गर्न सकिदैन,’ उनले भने, ‘उनी महागफाडी हुन् ।’

अध्यक्ष नेपालले ओली बयल गाडाका प्रवर्तक भएको पनि बताए । ‘नेपालमा राजतन्त्र फल्नु र बयलगाडा चढेर वासिङटन जानु उस्तै उस्तै हो भन्ने गणतन्त्र विरोधी हुन् ओली,’ उनले भने, ‘आज गणतन्त्र विरोधी सँग साँठगाँठ गर्दैछन् ।’ उनले पाँच दलीय गठबन्धन आजको आवश्यकता भएको समेत बताए । पाँच वर्षमा भरतपुरमा रेणु दाहालले गरेको कामले आफू दंग परेको समेत बताए ।

भरतपुरको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सहभागि छन् ।

 

 

प्रतिक्रिया दिनुहोस