Latest News

गठबन्धनको सभामा रेनु दाहालको सम्बोधन: पाँच बर्षमा के-के गरिन् काम ?

Nepalese Times May 5, 2022 (1 Year ago)    560 Views

चितवन – भरतपुरमा सत्तारूढ गठबन्धनको चुनावी सभालाई भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार प्रचण्डपुत्री रेनु दाहालले सम्बोधनका क्रममा ‘लाल सलाम’ भनेर अभिवादन नगरी ‘जय नेपाल’ भनेर अभिवादन गरेकी छन् ।

सभामा मन्तव्यको सुरुआतमा दाहालले शीर्ष नेताहरूलाई सम्बोधन गरेर अभिवादन गर्ने बेला भनिन्,‘…….मेयरको उम्मेदवारको हैसियतमा हार्दिक अभिवादन, जय नेपाल व्यक्त गर्न चाहन्छु ।’ त्यसपछि उनले आफ्नो मन्तव्य राखेकी थिइन् । उनले मन्तव्य सक्दा पनि ‘लाल सलाम’ नभनेर ‘जय नेपाल’ भन्दै अन्त्य गरेकी थिइन्।

त्यस्तै भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेनु दाहालले पाँच वर्षको अवधिमा भरतपुरमा गर्व गर्न सकिने काम गरेको दावी गरेकी छन् ।

०७४ सालमा मेयरमा निर्वाचित भएकी उनले विपक्षीहरुका अगाडि शीर झुकाउनु नपर्ने गरी काम गरेको बताएकी हुन् ।

सत्तारुढ गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले भनिन्, ‘पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी, प्रतिपक्षको आँखा जुधाएर कुरा गर्न सक्ने भएका छौं, भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्‍याएका छौं ।’

उनले पुनः निर्वाचित भए महानगरमा सुरु गरेको गौरवका आयोजना पूरा गर्ने बताइन् । आफूले पाँच वर्ष महानगरवासीको साझा जनप्रतिनिधिको हिसाबले काम गर्ने कोशिस गरेको पनि दाहालले बताइन् ।

‘यो ५ वर्षमा हामीले हाम्रा विरोधीहरुसँग आँखा जुधाउन सक्नेगरी गर्व गर्नेगरी भरतपुरलाई पुर्‍याएका छौं’, उनले सम्बोधनको क्रममा भनिन्, ‘हामी गर्व गर्न लायक ठाउँमा भरतपुरलाई पुर्याएको अनुभव गरेका छौं।’

महानगरका थुप्रै गौरवका आयोजना पूरा गरे ५ वर्षमा फिल्म नै देखाउने उनको भनाइ छ। ‘हामीले भरतपुरमा कास्टिङ देखाएका छौं,’ दाहालले भनिन, ‘अबको ५ वर्षे कार्यकाल फेरिपनि थुप्रै महानगरका गौरवका आयोजनालाई पूरा गरेर समग्र फिल्म देखाउन सक्छौं भन्ने अनुभूति भएको छ।’

विगतको पाँच वर्ष मैले साझा गठबन्धनको उम्मेदवार र निर्वाचित भइसकेपछि जनप्रतिनिधि भइसकेपछि ‘साझा’ भएर काम गरेको दाबी गरेकी छिन्।

भरतपुरमा आयोजित आमसभामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका सत्तारुढ दलका नेताहरु सहभागी छन्।

प्रतिक्रिया दिनुहोस