Latest News

सभापति देउवाकै अघि चितवन काँग्रेसका नेताले यस्तो भनेपछि…

Nepalese Times May 5, 2022 (1 Year ago)    902 Views

भरतपुर – सत्ता गठबन्धनको भरतपुरमा जारी आमसभाका क्रममा चितवन जिल्लाका कांग्रेसका पूर्व सभापति जितनारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साक्षी राखेर अब कांग्रेसलाई धोका नदिन आग्रह गरेका छन् ।

‘हामी चितवनमा गठबन्धनलाई विजयी गराउँछौं, त्यसमा ढुक्क हुनुहोस्,’ उनले भने, ‘हाम्रो सभापति सोझो हुनुहुन्छ । जे बोल्यो, त्यो गर्नुहुन्छ । अब धोका नदिनुहोला ।’

भरतपुरमात्रै नभएर चितवनका सबै पालिकामा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै श्रेष्ठले विगतमा जस्तो धोका नदिन आग्रह गरे । उनले कांग्रेसको नेतृत्वमा बनेको संविधान एमालेले समाप्त गर्न खोजेका कारण गठबन्धन राजनीतिक आवश्यकता बनेको बताए ।

उनले अघिल्लो संघीय र प्रदेशसभा निर्वाचनमा माओवादीले कांग्रेसँगको गठबन्धन छाडेर एमालेसँग मिलेको संकेत गर्दै उनले त्यस्तो धोखाधडी गर्न नपाइने बताएका हुन् । उनले पदप्राप्ति भैसकेपछि गठबन्धनप्रति विगतमा प्रतिवद्धता नदेखिएकाले आम कार्यकर्ता ढुक्क हुन नसक्ने स्थिति आएको बताए ।

उनले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने पनि बताए । पहिले पार्टीले निर्णय नगर्दासम्म आफूहरुको केही गुनासो भए पनि पार्टीले निर्णय गरेपछि एकढिक्का भएर लाग्ने उनले बताए ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले स्थानीय चुनावमा मात्रै नभएर राष्ट्रिय चुनावमा पनि गठबन्धन कायम रहने प्रतिवद्धता गर्न शीर्ष नेताहरुसँग माग गरेका छन् ।

गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोल्दै केन्द्रीय सदस्य गुरुङले चुनावको बेला गठबन्धन गर्ने तर जितेपछि भंग गर्ने काम नगर्न शीर्ष नेतासँग आग्रह गरेका हुन् ।

‘गठबन्धनका नेताहरुले प्रतिज्ञा गर्नुपर्यो । यो गठबन्धन निरन्तर रहन्छ भनेर । पद पाउनमात्रै गठबन्धन गरेको हो भने भोली जनताले भरोस गर्न छाड्नेछन्’, गुरुङले भने ।

उनले गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकता भएकोले गठबन्धनका उम्मेदवार जिताउन कांग्रेसका सबै तहका नेता कार्यकर्ताहरु सक्रिय हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस