Latest News

भरतपुर पुगेर बागी उम्मेदवारबारे प्रचण्डले दिए यस्तो प्रतिक्रिया

Nepalese Times May 5, 2022 (1 Year ago)    775 Views

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल बीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताए ।

अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताए । उनले भने, ‘निर्वाचन जित्न असहज छैन ।’ भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार रहेकी छन् । गठबन्धनले आज यहाँ चुनावीसभा आयोजना गर्दैछ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् । सत्तापक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने समेत दावी गरे ।

नेपालले भने “राम्रोसँग व्यवस्थापन गरेका छौँ ।” ‘सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै उनले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह गरे । चुनावको माहोल अनुकूल बनाउने भन्दै उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताए ।

भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोसिस भइरहेको अध्यक्ष नेपालले बताए । राजनीतिक मान्छेले राजनीतिक रूपमा सोच्छ भन्दै उनले आफूलाई केन्द्रविन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्ने बताए ।

“हामीले नेपालको राजनीतिक परिवर्तनमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ” अध्यक्ष नेपालले भने, “गठबन्धनका दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नु पर्छ ।”

सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस