Latest News

भरतपुर पुगेर देउवाले गरे शेखर कोइरालालाई फोन, के-के भयो कुराकानी ?

Nepalese Times May 5, 2022 (1 Year ago)    739 Views

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालालाई फोन गरेका छन्। भरतपुरको चुनावी कार्यक्रममा आउन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालालाई फोन गरेर आग्रह गरेका हुन्  ।

तर कोइरालाले ढिलो खबर आएको र आफू पूर्वनिर्धारित कार्यक्रममा विराटनगरमा व्यस्त भएको भन्दै भरतपुर नजाने जवाफ दिएका छन् ।

बिहीबार बिहान सभापति देउवाले नेता कोइरालालाई फोन गरी भरतपुर आउन आग्रह गरेका थिए । सभापति देउवासँग फोनमा भएको संवादबारे कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘सभापतिले फोन गरेर भरतपुरको कार्यक्रममा आइदिनपर्यो भन्नु भयो । कार्यव्यस्तता भएकाले आउन नसक्ने जानकारी दियौं ।’

 आज भरतपुरमा सत्ता गठबन्धनले सभा गर्न लागेको छ । त्यसका लागि प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेल भरतपुर पुगिसकेका छन् ।

पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई उपस्थित हुने जनाएको थियो । उपस्थित हुने नेतामा डा. शेखरको नाम भने पूर्वनिर्धारण गरिएको थिएन ।

बिहीबार बिहान देउवाले भरतपुरबाटै विराटनगरमा रहेका शेखरलाई फोन गरेका थिए । चुनावी प्रचारका लागि पूर्व निर्धारित कार्यक्रम तय भएकाले भरतपुर आउन नसक्ने जवाफ फर्काएका थिए ।

यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटेका छन् ।

भरतपुरमा आज सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीच भेटवार्ता भएको हो । रामचन्द्रनिकट स्रोतका अनुसार आज बिहान होटल सिरागचुलीमा जगन्नाथ, मीना खरेल र कृष्णलाल सापकोटासँग कुराकानी भएको हो ।

जगन्नाथ मेयर उम्मेदवार बन्दा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए। उनीहरू पनि कांग्रेस कार्यकर्ता थिए। आजको भेटमा जगन्नाथलाई रामचन्द्रले उम्मेदवारी निस्कृय बनाउन आग्रह गरेका थिए।

तर जगन्नाथले आफूहरू गठबन्धनको पक्षमा नरहेको र कांग्रेस बचाउन आफ्नो उम्मेदवारी कायमै राख्ने अडान दोहोर्‍याएको स्रोतको दाबी छ।जगन्नाथ कांग्रेसले भरतपुर महानगरमा मेयर पाउनुपर्छ भन्ने पक्षमा थिए।

तर यहाँ सत्तागठबन्धनले मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेपछि उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। कांग्रेसले आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीबाट हटाउने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस