Latest News

रामचन्द्रले भेटे भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथलाई, के–के भयो कुराकानी ?

Nepalese Times May 5, 2022 (1 Year ago)    975 Views

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटेका छन् ।

भरतपुरमा आज सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीच भेटवार्ता भएको हो । रामचन्द्रनिकट स्रोतका अनुसार आज बिहान होटल सिरागचुलीमा जगन्नाथ, मीना खरेल र कृष्णलाल सापकोटासँग कुराकानी भएको हो ।

जगन्नाथ मेयर उम्मेदवार बन्दा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए। उनीहरू पनि कांग्रेस कार्यकर्ता थिए। आजको भेटमा जगन्नाथलाई रामचन्द्रले उम्मेदवारी निस्कृय बनाउन आग्रह गरेका थिए।

तर जगन्नाथले आफूहरू गठबन्धनको पक्षमा नरहेको र कांग्रेस बचाउन आफ्नो उम्मेदवारी कायमै राख्ने अडान दोहोर्‍याएको स्रोतको दाबी छ।जगन्नाथ कांग्रेसले भरतपुर महानगरमा मेयर पाउनुपर्छ भन्ने पक्षमा थिए।

तर यहाँ सत्तागठबन्धनले मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेपछि उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। कांग्रेसले आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीबाट हटाउने निर्णय गरिसकेको छ।

यस्तै सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्ने भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ । रातभर परेको वर्षाका कारण भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको हो ।

सभाका लागि अघिल्लो दिन नै तयार पारिएको मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् । आमसभा स्थललाई सजाउन राखिएका झण्डाहरू पनि हावाले उडाउँदा यत्रतत्र झरेर पानीमा डुबेका छन् ।

अब कसरी आमसभा गर्ने भन्नेबारे छलफल गरिने कांग्रेसका एक नेताले जानकारी दिए । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हिजो नै चितवन आएर भरतपुर बसेका छन् ।

आमसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने भनिएको छ ।

भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल प्रमुख पदमा र नेपाली कांग्रेसका चित्रसेन अधिकारी उपप्रमुख पदमा उम्मेदवार छन् । कांग्रेसकै नेता जगन्नाथ पौडेलले मेयर पदमा बागी उम्मेदवारी दिएका छन् । यसैगरी नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

भरतपुर महानगरपालिकाको निर्वाचनलाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले प्रतिष्ठाको विषय बनाएकाले धेरैको चासो चितवनमा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस