Latest News

महानगरको उपमेयरमा उठेकी एमालेकी उम्मेदवारविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, बालकोटमा खैलाबैला

Nepalese Times May 4, 2022 (1 Year ago)    802 Views

काठमाडौं । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । उनीविरुद्ध उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो ।

सत्ता गठबन्धनका तर्फबाट विराटनगरको उपमेयरमा जसपाबाट उम्मेदवारी दिएका अमरेन्द्र यादवले कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

कार्कीले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिएरै उम्मेदवारी दर्ता गराएको भन्दै उनले सर्वाच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

कार्कीले कीर्ते राजीनामा तयार पारी बुझाएको र मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्यसैका आधारमा उम्मेदवारी सदर गरेको हुँदा उक्त उम्मेदवारी बदर गर्न रिट निवेदकले माग गरेका छन्।

रिटमा निर्वाचन आयोग, मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय र कार्कीलाई विपक्षी बनाइएको छ। सर्वोच्च अदालतले उक्त रिटको बिहीबारका लागि पेसी तोकेको छ।

कार्कीलाई केपी ओली नेतृत्वको सरकारले अस्पतालमा नियुक्त गरेको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ माघ २१ मा उनीसहितका सबै पदाधिकारीलाई हटाएको थियो।

सरकारको निर्णयविरूद्ध कार्कीसहितका पदाधिकारी सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले उनीहरूको पक्षमा फैसला सुनाएपछि कार्कीसहितका पदाधिकारी पुनःबहाली भएका थिए।

त्यसपछि राजीनामा नदिई उनी उम्मेदवार बनेको उजुरी परेको थियो । कार्कीले मंगलबार मात्रै राजीनामा पत्र बुझाएको कोसी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले बताए।

नेकपा एमालेका नेताहरूले भने फागुनमा राजीनामा दिएको भनेर दर्तामा मिलाउन दबाब दिएको कोसी अस्पतालकै एक कर्मचारीले बताएका छन् । कार्कीसहित चार जना उम्मेदवारविरूद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले बताएका छन्।

नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था छ। उनीमाथि थप अनुसन्धान भइरहेको बुढाथोकीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस