Latest News

भ्रातृ संगठनहरूलाई कांग्रेसले दियो यस्तो निर्देशन

Nepalese Times May 4, 2022 (1 Year ago)    515 Views

नेपाली काँग्रेसले केही भ्रातृसंघ र शुभेच्छुक संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचन आसपास सम्भव नभएकाले स्थगित गर्न निर्देशन दिएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी वनाउन खटिनुपर्ने भएकाले अधिवेशन सम्भव नहुने भन्दै पूर्वनिर्धारित अधिवेशनहरू स्थगित गर्न भनेका हुन् ।

साथै काँग्रेसले स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै बैठक बसेर अधिवेशन र महाधिवेशनको कार्यतालिका तय गर्न पनि निर्देशन दिएको छ ।

‘निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन÷महाधिवेशनको कार्यतालिका यथाशिघ्र तय गर्ने गरी पूर्व निर्धारित अधिवेशन÷महाधिवेशन हाललाई स्थगित गर्नु हुन सम्बन्धित भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुलाई निर्देशानुसार जानकारी गराइएको छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा सभा गर्ने भएको छ। आज (बुधबार) मोरङको विराटनगरबाट सभाको आरम्भ भएको छ ।

विराटनगरको सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

विभिन्न दश ठाउमा हुने सभामा देउवा र पौडेलले सम्बोधन गर्नेछन्। साथै स्थान अनुसार पार्टी पदाधिकारी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ।

सार्वजनिक सूची अनुसार विराटनगर, भरतपुर, काठमाडौं, बुटवल, दमौली, जनकपुर, पोखरा, तुलसीपुर, धनगढी, डडेलधुरामा सभा हुनेछ।

प्रतिक्रिया दिनुहोस