Latest News

विप्लव र प्रकाण्डलाई पार्टीबाट हटाइयो, कसले पाए नयाँ जिम्मेवारी ?

Nepalese Times May 4, 2022 (1 Year ago)    1632 Views

काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीबाट हटाएको छ ।

उनलाई हेमन्तप्रकाश–धर्मेन्द्र पक्षको भेलाले महासचिव पटबाट हटाएका एक नेताले बताए । चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पनि हटाउने निर्णय गरेको हो ।

पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बस्तोलालाई जिम्मेवारी दिइएको पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले बताए ।

पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवहरुले उल्ट्याएको भन्दै उनले पार्टीको विधि विधान विपरित स्थानीय चुनावमा जान थालेकाले आफूहरुले उनीहरुलाई कारबाही गरेको लोहनीको भनाइ छ ।

आफूहरुले पार्टीको निर्णयलाई समातेर बस्दा उनखीहरुले उल्टै कारबाही गरेको भन्दै लोहनीले विप्लवलाई महासचिवबाट हटाएर पार्टी संयोजक धर्मेन्द्र बास्तोलालाई बनाइएको उनले बताए ।

भोलि सकिने ओली–बाँस्तोला पक्षको भेलाले पार्टीका सबै निर्णय सार्वजनिक गर्ने भएको छ । चितवन भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको छ । पार्टी केन्द्रीय समिति सदस्यको बहुमत भएकाले आधिकारिकता आफूहरुले पाउने लोहनीले बताए ।

स्रोतका अनुसार त्यस भेलाले महासचिव विप्लवलाई कारवाही गरेर नयाँ पार्टी घोषणा गर्ने तयारी छ। बास्तोला र ओलीले बोलाएको राष्ट्रिय भेला आजदेखि चितवनमा सुरु भएको छ । देशभरका नेता र कार्यकर्ताको उपस्थिति छ।

स्रोतका अनुसार पूर्व डिभिजन कमाण्डर दीपक चलाउने र नेता पूर्णबहादुर सिंह पनि भेलामा सहभागी छन्। चलाउने केही समय विप्लवनिकट थिए। चैत ४ देखि १४ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने कि नहुने विषयमा विवाद भएको थियो।

चुनावलाई उपयोग गर्नुपर्ने योजनासहित महासचिव विप्लवले ल्याएको राजनीतिक प्रतिवेदन नै फेल भएपछि परिमार्जन गरेर चुनावमा सक्रिय सहभागी नहुने तर, राम्रा उम्मेदवालाई समर्थन गर्न सकिने निर्णय गरेर बैठक सकिएको थियो।

स्थानीय तहको निर्वाचनमा देशका विभिन्न तहमा स्वतन्त्र उम्मेदवारी परेपछि बैशाख १२ गते धर्मेन्द्र बास्तोलाले विज्ञप्ती जारी गरी मनोनयन दर्ता फिर्ता लिन आग्रह गरेका थिए।

पार्टीको हित र निर्णयविपरीत विज्ञप्ती निकालेको भन्दै वैशाख १३ गते विप्लवले बाँस्तोला र वली दुवै नेतालाई कारवाही गरी पदमुक्त गरेका थिए। पदमुक्त दुवै नेताले नयाँ पार्टी गठनको तयारी थालेका थिए। त्यहीअनुसार राष्ट्रिय भेला भइरहेको हो। भेला शुक्रबारसम्म हुने बताइएको छ। ।

प्रतिक्रिया दिनुहोस