Latest News

चुनावको बेला एमालेका अध्यक्ष उम्मेदवारलाई पक्राउ पुर्जी

Nepalese Times May 4, 2022 (1 Year ago)    850 Views

नेकपा एमालेका ओखलढुंगाका एक उम्मेदवारविरुद्ध पक्राउ पुर्जी जारी गरेका छ। नेकपा (एमाले) बाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

भक्तपुर जिल्ला अदालतले विष्टविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पत्र पठाएको छ।

विष्टविरुद्ध बैंकिङ कसुर तथा किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। अदालतले वैशाख १६ गते नै विष्टलाई पक्राउ गर्न ओखलढुंगा प्रहरीलाई पुर्जी पठाए पनि प्रहरीले अझै उनलाई पक्राउ गरेको छैन।

विष्टविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा पनि उजुरी परेको छ। दोहोरो नागरिकता लिएको कुसुरमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट समेत अनुसन्धान सुरु भएको छ।

विष्टले जिल्ला प्रशासन कार्यालय काठमाडौं र ओखलढुंगाबाट दोहोरो नागरिकता लिएको उजुरीमा उल्लेख छ। लिखु गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेका अशोक कार्कीले विष्टविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका हुन्।

निर्वाचन अधिकृत राजेशकुमार थापाले पछि कानुनबमोजिम हुने गरी हाललाई विष्टको मनोनयन पत्र खारेज गरिरहनु नपर्ने भनी निर्णय गरेपछि उनको उम्मेदवारी खारेज हुनबाट जोगिएको छ।

निर्वाचन आयोगको मतदाता नामावली सूचीमा विष्टका दुई नाम छन्। आयोगको मतदाता नामावली सूचीमा क्र.सं.१३६३ को मतदाता नम्बर ३७९८२९२ र क्र.सं.२१७४ को मतदाता नं. १७७६४४३० मा उनको नाम मिलनकुमार विष्ट र होमबहादुर विष्ट भनेर उल्लेख गरिएको छ।

विष्टले २०४७ मा ओखलढुंगा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टका नाममा नागरिकता लिएका थिए। त्यसैगरी २०५१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले मिलनकुमार विष्ट नाममा अर्को नागरिकता लिएको पाइएको छ।

यी दुवै नागरिकतामा उनको बुवाको नाम गणेशबहादुर विष्ट उल्लेख छ। दुबै नागरिकतामा ठेगाना भने पोकली–४ ओखलढुंगा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस