Latest News

भुवन केसी र श्वेता खड्का पनि काँग्रेसमा प्रवेश, देउवाले गरे स्वागत

Nepalese Times May 3, 2022 (1 Year ago)    829 Views

अभिनेता भुवन केसी काँग्रेस प्रवेश गरेका छन् । यस्तै अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् ।

यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेस पार्टीसँग जोडिन पाउँदा निकै खुसी लागेकोसमेत केसीले बताए। ‘म कलाकार भएकाले कांग्रेस पार्टीले कला र संस्कृतिकलाई चासो दिएर निमन्त्रणा दिनुभयो। कला क्षेत्रप्रति देखाएको चासो चित्त बुझेर कांग्रेस पार्टी प्रवेश गरेको हुँ,’ केसीले भने।

स्थानीय चुनावमा केसीलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारको रुपमा उठाउने घोषणा गरेको थियो। २०७० सालको संविधान सभा निर्वाचन अघि भुवन एमाले प्रवेश गरेका थिए। त्यतिबेला संसदीय चुनावमा उनको नाम सिफारिस हुँदा एमालेभित्र चर्को विरोध भएको थियो।

नायक केसीलाई एमालेले संविधानसभा निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार बनाउने निर्णय गरे पनि विरोधका कारण पछि टिकट खोसिएको थियो। टिकट खोसिएपछि केसीले एक विज्ञप्ति जारी गर्दै आफू एमालेमै रहने बताएका थिए।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इदउल फित्र)का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

उनले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।

प्रधानमन्त्री देउवाले राज्यले पनि यसको संरक्षण, विकास र प्रवर्द्धनको नीति लिएको उल्लेख गर्दै हाम्रा चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहनसहनको संरक्षण र संवर्द्धन गर्न यस पर्वले सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

यस पर्वले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने तथा सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस