Latest News

सर्वोच्च अदालतमा एआईजी पोखरेलको रिट दर्ता, कहिले छ पेशी ?

Nepalese Times May 2, 2022 (10 Month ago)    540 Views

काठमाडौं– नेपाल प्रहरीको २९ महानिरीक्षक (आईजी) नियुक्तिको निर्णयविरुद्ध अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।

आफूभन्दा डेढ वर्ष जुनियर एआईजीपी सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय बदर गर्न माग गर्दै पोखरेलले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले पोखरेलको रिट दर्ता भएको जानकारी दिए। रिटमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबारलाई पेसी तोकिएको उनले बताए।

यस्तै नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले गृहमन्त्री बालकृष्ण खाँणसँग शुभकामना लिएका छन्।

सोमबार दिउँसो गृह मन्त्रालयमा दुवै महानिरीक्षकले शुभकामना लिएका हुन्। भेटमा गृहमन्त्री खाँणले दुवै महानिरीक्षकहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।

दुवैको कार्यकालमा मुलुकको शान्ति सुरक्षा सबल र सुदृढ बन्ने अपेक्षा सरकारको रहेको गृहमन्त्री खाँणको भनाइ थियो।

उनले ३० वैशाखमा सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न लाग्न पनि निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस