Latest News

कांग्रेसका यी दुई उम्मेदवार पनि निर्विरोध निर्वाचित

Nepalese Times May 1, 2022 (1 Year ago)    748 Views

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिका–५ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छिन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उक्त वडाको दलित महिला सदस्य पदमा अरुको उम्मेदवारी नपरेकोले रिपुकुमारी निर्विरोध निर्वाचित भएको हो ।

यस्तै महोत्तरीको बर्दिवास नगरपालिका–७ बाट माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार बनेकी कलिमाया निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ ।

यस्तै खार्पुनाथ गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी छन्। शाहीसहित तीन जनाले उम्मेदवारी दिएकामा दुईजनाले आफ्नो मनोनयन फिर्ता लिएपछि शाही निर्विरोध निर्वाचित भएकी हुन्।

वडा नम्बर ४ को वडाध्यक्षका लागि तीन जनाको मनोनयन दर्ता भएकामा दुुई जनाले मनोनयन फिर्ता लिएपछि शाहीको एकल मनोनयन रहेको खार्पुनाथ गाउँपालिकाको निर्वाचन अधिकृत कमलकुमार आचार्यले बताए।

उनीहरूले शाही अब निर्विरोध हुने भए पनि त्यसको औपचारिक घोषणा भने नभएको बताए। सो पदका लागि नेकपा माओवादी केन्द्रकी हदेली जेठारा र नेकपा एमालेबाट कमल रावतले उम्मेदवारी दिएका थिए।

माओवादीले आफ्नो तर्फबाट परेको उम्मेदवारी फिर्ता लिन जिल्लाबाट लिखित निर्देशन दिएको थियो। तर, एमालेका उम्मेदवारले पनि आफैं फिर्ता लिएपछि कांग्रेसबाट टिकट पाएकी शाही निर्विरोध भएकी हुन्। यसअघि पनि खार्पुनाथमा नेपाली कांग्रेसको एकल बहुुमत आएको थियो। खार्पुनाथ कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गाउँपालिका हो।

 

प्रतिक्रिया दिनुहोस