Latest News

कांग्रेस उम्मेदवारले नै मागिन् एमाले उम्मेदवारलाई भोट, यस्तो विज्ञप्ति निकालेपछि खैलाबैला

Nepalese Times May 1, 2022 (1 Year ago)    948 Views

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएकी भगवती राईले नेकपा एमालेका उम्मेदवारलाई समर्थन जनाएकी छिन् ।

कांग्रेसबाट उम्मेदवार बनेकी राईले उम्मेदवारी फिर्ता लिन खोज्दा कांग्रेस र माओवादीका नेताहरूले ‘बन्धक बनाई’ फिर्ता लिन नदिएको उनको आरोप छ ।

विज्ञप्तिमा उनले लेखेकी छिन्, ‘नेकपा एमाले आमचोकसँग पार्टीको सहमति भए अनुसार अध्यक्ष पदका उम्मेदवार वसन्त राईलाई चुनाव चिन्ह सूर्यमा र उपाध्यक्ष पदको उम्मेदवार छिरिङ शेर्पालाई चुनाव चिन्ह रूपमा मतदान गरी अत्यधिक मतले विजयी गराउनुहुन सबै मतदाता समक्ष हार्दिक अपिल गर्दछु ।’

कांग्रेसभित्रको आन्तरिक विवादका कारण सो पालिकामा गठबन्धनको तालमेलमा समस्या उत्पन्न भएको हो । कांग्रेसको जिल्ला नेतृत्वले एमालेसँगको तालमेल तोड्न निर्देशन दिए पनि कार्यान्वयन हुन नसकेको हो ।

उनले आफू नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेपछि आफू निर्वाचन प्रचार र घरदैलोमा उपस्थित नहुने जनाएकी छिन् । राईले विज्ञप्ति जारी गर्दै आफू उम्मेदवारका रूपमा मत माग्न असमर्थ भएको भन्दै आफ्नो गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार वसन्त राईलाई मतदान गर्न आग्रह गरेकी छिन् ।

यता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत गठबन्धनका दलहरूको विरोध नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबार गृहजिल्ला तनहुँमा नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी गरे ।

‘कांग्रेसले गरेको गठबन्धनलाई अन्यथा नलिनु होला । कांग्रेसले बहुमत ल्याउनलाई गठबन्धन गरेको हो । गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुन्छ,’ उनले भने ।

गठबन्धनविरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाइ छ । २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउँन गठबन्धनले सघाउने उनले बताए । संविधानको रक्षार्थ गठबन्धन अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ । उनले गठबन्धनलाई बलियो बनाउनेतर्फ लाग्न जिल्लाका नेता कार्यकर्तालाई सुझाव पनि दिए ।

‘देशलाई स्थायित्वमा लैजान आवश्यक छ । नेपाली कांग्रेस नेतृत्वमा संविधानको रक्षा भएको छ,’ उनको जिकिर छ । रोजगारी र आम्दानीलाई सार्थक बनाउन तीनै तहको सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए ।

यद्यपि, तनहुँमा सत्ता गठबन्धन दलको निर्णयअनुसार स्थानीय निर्वाचनका लागि गठबन्धन हुन सकेन । आ–आफ्नै तरिकाले दलहरूले गठबन्धन गरेर निर्वाचनको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस