काठमाडौं । चर्चित हास्य टेलि शृङ्खला ‘डिठ्ठासाब’का प्रमुख पात्र ‘डिठ्ठासाब’ अर्थात् किशोर भण्डारी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् ।
काठमाडौंको काभ्रेस्थलीका स्थायी बासिन्दा भण्डारीले तारकेश्वर नगरपालिका २ को वडा सदस्यमा उम्मेदवारी दिएका हुन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा सर्वसुलभ पहुँच र सुधार आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताएका छन् ।
यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत गठबन्धनका दलहरूको विरोध नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार गृहजिल्ला तनहुँमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी गरे ।
‘कांग्रेसले गरेको गठबन्धनलाई अन्यथा नलिनु होला । कांग्रेसले बहुमत ल्याउनलाई गठबन्धन गरेको हो । गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुन्छ,’ उनले भने ।
गठबन्धनविरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाइ छ । २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्याउँन गठबन्धनले सघाउने उनले बताए । संविधानको रक्षार्थ गठबन्धन अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ । उनले गठबन्धनलाई बलियो बनाउनेतर्फ लाग्न जिल्लाका नेता कार्यकर्तालाई सुझाव पनि दिए ।
‘देशलाई स्थायित्वमा लैजान आवश्यक छ । नेपाली कांग्रेस नेतृत्वमा संविधानको रक्षा भएको छ,’ उनको जिकिर छ । रोजगारी र आम्दानीलाई सार्थक बनाउन तीनै तहको सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए ।
यद्यपि, तनहुँमा सत्ता गठबन्धन दलको निर्णयअनुसार स्थानीय निर्वाचनका लागि गठबन्धन हुन सकेन । आ–आफ्नै तरिकाले दलहरूले गठबन्धन गरेर निर्वाचनको तयारी गरिरहेका छन् ।