Latest News

सशस्त्र प्रहरीको महानिरीक्षकमा अर्याल नियुक्त, को हुन् उनी ?

Nepalese Times May 1, 2022 (1 Year ago)    608 Views

काठमाडौं – सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा राजु अर्याललाई बढुवा गरिएको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

अर्याल वैशाख १४ गते एआईजीपीमा बढुवा भएसँगै आईजीपीका एकल दाबेदार थिए। सशस्त्र प्रहरी बलमा एआईजीबाट मात्रै आईजीपी बनाउने प्रावधान छ।

दुई एआईजीको दरबन्दी रहेको सशस्त्रमा अर्का एआईजी रामशरण पौडल पनि यही आइतबार नै आईजीपी पुष्पराम केसीसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि सरकारले अर्याललाई आईजीपीमा बढुवा गरेको हो।

२०५४ चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका अर्याल २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालमा स्थानान्तरण भएका थिए।

उनी सोही वर्ष सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका थिए। पाँच वर्षसम्म डीएसपी भएर काम गरेका अर्याल २०६३ सालमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका थिए। एसपीमा उनले सात वर्षसम्म काम गरे। २०७० मा एसएसपीमा बढुवा भएका उनी पाँच वर्षपछि २०७४ सालमा डीआईजीपीमा बढुवा भएका थिए।

चार पटकसम्म युन मिसनमा गएका उनले विभिन्न १० वटाभन्दा बढी इकाईहरुमा बसेर काम गरेका छन्।

अर्यालले स्वदेश तथा विदेशमा गरी १५ भन्दा बढी महत्त्वपूर्ण व्यावसायिक तालिम हाँसिल गरेका छन्। सुकीर्तिमय राष्ट्रदीप तृतीय¸ सुप्रबल जनसेवाश्री¸ गोरखा दक्षिण बाहु चौंथोलगायत विभिन्न ८ भन्दा बढी विभूषण¸ मानपदवी¸ पदक तथा अलंकारबाट उनी विभूषित भएका थिए।

अर्यालले त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामिण विकास¸ प्रथम श्रेणीमा समाजशास्त्र र राजनीतिशास्त्रका साथै अन्तर्राष्ट्रिय मानवीय कानुन समेत गरी ४ विषयमा स्नातकोत्तर उतीर्ण गरेका छन्।

यस्तै  सरकारले नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आईजी) मा धीरजप्रताप सिंहको बढुवा गर्ने निर्णय गरेको छ । उनीभन्दा झण्डै डेढ वर्ष ज्येष्ठतालाई उछिनेर सिंहलाई आईजीमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्ष अघि बढुवा भएका सहकुलबहादुर थापालाई पन्छाएर सरकारले सिंहलाई आईजी बनाएको हो।

गृहमन्त्री बालकृष्ण खाँण वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई नै आईजीपी नियुक्त गर्ने पक्षमा थिए । तर अन्तिममा बालुवाटारकै प्रस्तावमा सिंह आईजीपीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस