Latest News

भरतपुर मेयर उम्मेदवार पौडेलले कांग्रेसको झण्डा प्रयोग गर्न पाउँछन् ? यसो भन्छ निर्वाचन आयोग

Nepalese Times May 1, 2022 (1 Year ago)    3649 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट जगन्नाथ पौडेलले मेयरमा स्वतन्त्र उमेदवारी दिएका छन् । उनले शनिवार चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन् ।

चुनाव चिन्ह पाएलगत्तै उनले चुनावी प्रचार–प्रसार अभियानसमेत सुरु गरेका छन् । पौडेलले भरतपुरस्थित विपी कोइरालको क्यान्सर अस्पतालमा रहेको विपी कोइरालको शालिकमा माल्यार्पण गरेर चुनावी प्रचार शुरु गरेका हुन् । चुनाव चिन्ह पाएसँगै नेता पौडेल आफूले कांग्रेसका उम्मेदवार र चुनाव चिन्ह रुखको विरुद्धमा बागी नदिएको भन्दै कांग्रेस बचाउने अभियानमा रहेको बताएका छन् ।

पार्टीले कारबाही गरेपनि उनीहरुले नेपाली कांग्रेसको चार तारे झण्डा भने प्रयोग गरेका छन् । स्वतन्त्र या भनौँ कानुनी रुपमा नेपाली कांग्रेसमा नरहेका उनीहरुले कांग्रेसको झण्डा प्रयोग गर्न पाउँछन् कि पाउँदैन ? भन्ने प्रश्न आम नागरिकको मानसपटलमा उब्जिएको छ ।

स्वतन्त्र उम्मेदवारले कुनै राजनीतिक दलको झन्डासहित निर्वाचन प्रचारमा लागे कारबाही गर्ने कानुनी व्यवस्था नभएको पाइएको छ । निर्वाचन ऐनमा यससम्बन्धी व्यवस्था नभएकै कारण स्वतन्त्र उम्मेदवारले दलको झण्डा नै बोकेर निर्वाचन अभियानमा लाग्दा पनि निर्वाचन आयोग र आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले कारबाही गर्न सकेका छैनन् । 

शनिबार निर्वाचन चिह्न ‘भुइँकटहर’ पाएपछि चितवनको भरतपुर महानगरपालिकाका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कांग्रेसको चार तारे झण्डा ‘फ्लेक्स प्रिन्ट’मै छापेर निर्वाचन अभियान थालेका छन्। उनी कांग्रेसले साधारण सदस्यतासमेत खोसिएका उम्मेदवार हुन् । कांग्रेसले नै हटाएपछि उनको कांग्रेससँग सम्बन्ध छैन।

पार्टीको झण्डा प्रयोग गर्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नरहेकोले यहि कारबाही हुन्छ भन्ने नरहेको र आस्था छ भने प्रयोग गर्न मिल्ने निर्वाचन आयोगका सह–प्रवक्ता सूर्य प्रसाद अर्यालले बताएका छन् ।

नेप्लिज टाइम्ससँग कुरा गर्दै उनले एउटा पार्टीका अथवा स्वतन्त्र उम्मेदवारले अर्को पार्टीको झण्डा प्रयोग गरेको अवस्थामा यहि कारबाही हुन्छ भन्ने कुनै कानुनी व्यवस्था नरहेकोले कसैले कुनै आस्थालाई मानेर झण्डा बोकेर हिँड्छ भने उसको स्वतन्त्रताको विषय भएको बताए ।

‘कसैले अरु कुनै पार्टीको आस्थालाई मानेर झण्डा प्रयोग गर्छ भने उनीहरुलाई रोक्न मिल्दैन’ उनले भने, ‘कारबाहीबारे कतै पनि कानुनी व्यवस्था नरहेकोले यसमा उनीहरुको स्वतन्त्रता रहन्छ ।’

उनी भन्छन्, ‘चार तारे झण्डा र रूख चिह्न त नेपाली कांग्रेसको हो । एक किसिमले हेर्दा त्यो रुखलाई मत मागेको हो । तर, पनि त्यसरी दलको झण्डा प्रयोग गरेर मत माग्छ भने कारबाही गर्ने कानुनी व्यवस्था छैन । नैतिक पक्षबाट अर्काको चिह्न प्रयोग नगर्दा राम्रो भन्ने मात्रै हो । प्रयोग गरे यसै गर्नुपर्छ भनेर ठ्याक्कै कहीँ लेखिएको छैन।’

स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन आयोगले छुट्टै चुनाव चिन्ह प्रदान गरेको भन्दै उनले ति स्वतन्त्र उम्मेदवारहरुले कुनै पार्टीको झण्डामुनी बसेर आफ्नो स्वतन्त्र चुनाव चिन्ह लिएर चुनावी प्रचारप्रसारमा जाने कुरा कुनै आपत्तिको विषय नरहेको बताए ।

उनले कुनै पनि पार्टीको झण्डा या राष्ट्रिय झण्डाको दुरुपयोग गर्न भने नपाईने बताए । यस्तै कुनै पार्टी या उम्मेदवारले राष्ट्रिय झण्डा प्रयोग गरेर चुनावी अभियानमा जानसमेत छुट रहेको आयोगका सहप्रवक्ता अर्यालको भनाइ छ । केही राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले नेपालको राष्ट्रिय झण्डा प्रयोग गरेर चुनावी अभियानमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस