Latest News

माओवादी र समाजवादीको विरोध नगर्न भन्दै कांग्रेस वरिष्ठ नेता पौडेलले दिए कडा निर्देशन

Nepalese Times May 1, 2022 (1 Year ago)    714 Views

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  माओवादी केन्द्र , एकीकृत समाजवादीलगायत गठबन्धनका दलहरूको विरोध नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबार गृहजिल्ला तनहुँमा नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी गरे ।

‘कांग्रेसले गरेको गठबन्धनलाई अन्यथा नलिनु होला । कांग्रेसले बहुमत ल्याउनलाई गठबन्धन गरेको हो । गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुन्छ,’ उनले भने ।

गठबन्धनविरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाइ छ । २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउँन गठबन्धनले सघाउने उनले बताए । संविधानको रक्षार्थ गठबन्धन अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ । उनले गठबन्धनलाई बलियो बनाउनेतर्फ लाग्न जिल्लाका नेता कार्यकर्तालाई सुझाव पनि दिए ।

‘देशलाई स्थायित्वमा लैजान आवश्यक छ । नेपाली कांग्रेस नेतृत्वमा संविधानको रक्षा भएको छ,’ उनको जिकिर छ । रोजगारी र आम्दानीलाई सार्थक बनाउन तीनै तहको सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए ।

यद्यपि, तनहुँमा सत्ता गठबन्धन दलको निर्णयअनुसार स्थानीय निर्वाचनका लागि गठबन्धन हुन सकेन । आ–आफ्नै तरिकाले दलहरूले गठबन्धन गरेर निर्वाचनको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस