Latest News

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल, यस्तो छ भागबन्डा

Nepalese Times May 1, 2022 (1 Year ago)    542 Views

सत्ता गठबन्धन दल माओवादी केन्द्र र नेकपा एमालेबीच तालमेल गरेका छन्। बाजुरा जिल्लाका बडिमालिका नगरपालिकामा एकीकृत समाजवादी र माओवादीले एमालेलाई सघाउने अनौपचारिक सहमति रहेको छ।

अन्तिमसम्म कांग्रेससँग तालमेलको प्रयास गरेपनि ‘थोरै मत’ भन्दै दुवै पार्टीसँग संवाद समेत गर्न नचाहेपछि उनीहरु भड्किएका छन्। एमालेका उम्मेदवार अमर खड्का र नन्दा थापालाई सघाउने गरी समाजवादी र राप्रपाका मेयर र उपमेयरले उम्मेदवारी फिर्ता लिएका छन्।

त्रिवेणी नगरपालिकामा एमालेले प्रमुख र माओवादीले उपप्रमुख पाउने र ९ वटा वडा मध्ये एमालेले ५ र माओवादी केन्द्रले ४ वडा पाउने सहमति बनेको छ।

एमालेबाट प्रमुखमा मोतिसिंह बुढा ‘उज्वल’ र उपप्रमुखमा माओवादी केन्द्रका मनराज बुढा ‘मिलन’लाई उठाउने लिखित सहमति भएको छ। वाम गठबन्धनबाट जित्ने गरि सहकार्य गरिएको एमाले बाजुराका उपाध्यक्ष भरत बुढाले बताएका छन्।

यसैगरी, बुढीनन्दा नगरपालिकामा पनि एमाले र माओवादीबीच चुनावी तालमेल गरिएको छ। कांग्रेसका क्षेत्रीय सभापति रामबहादुर बोहोरा समेत यो गठबन्धनमा सामेल भएका छन्। एमालेका जनककुमार बोहोरा प्रमुखमा र कांग्रेसबाट विद्रोह गरेका रामबहादुर उपप्रमुखमा उम्मेदवार छन्।

वडा सदस्यसहितको पदमा समझदारी गरेर माओवादीसँग सहकार्य गरिएको नेकपा एमालेका उपसचिव एवं मेयरका उम्मेदवार बोहराले बताएका छन्। समाजवादीले पनि मेयरमा एमालेलाई सघाउने वचन दिएको छ।

यस्तै  अछामको मेल्लेख गाउँपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले आफूलाई अलग गरेपछि समाजवादीले एमालेसँग तालमेल गरेको हो ।

दुई दलबीचको सहमतिपछि मेल्लेखमा अध्यक्षमा एमालेका भीमबहादुर खड्का र उपाध्यक्षमा एकीकृत समाजवादीकी समिता महर साउदलाई साझा उम्मेदवार बनाइएको छ ।

समाजवादीबाट अध्यक्षमा मनोनयन दर्ता गरेका डम्बर नेपाली र एमालेबाट उपाध्यक्षमा उम्मेदवार एमालेकी चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।

८ वटा वडा रहेको मेल्लेखमा एमालेले ७ र एकीकृत समाजवादीले एउटा वडा सहमति गरेका छन् । तर वडाध्यक्षमा मनोनयन दर्ता गरेका दुवै पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । मेल्लेख नेकपा एमालेका प्रदेश कमिटी सदस्य कृष्णप्रसाद जैशी र एकीकृत समाजवादीकी प्रदेश कमिटी सदस्य तथा पूर्व मन्त्री मनाकुमारी साउदको गाउँपालिका हो ।

एमालेका प्रदेश कमिटी सदस्य जैसीले एकीकृत समाजवादीको प्रस्तावअनुसार आन्तरिक सहमतिका आधारमा गठबन्धन गरिएको बताए ।

यस्तै हुम्लाको चंखेली गाउँपालिकामा एमाले र नेकपा एकीकृत समाजवादीबीच चुनावी लातमेल भएको छ । केन्द्रमा एमालेले एकीकृत समाजवादीलाई पार्टी नमाने पनि हुम्लाको चंखेली गाउँपालिकामा भने चुनावी तालमेल भएको हो ।

एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेलपछि अध्यक्षमा एमालेका विमलाकुमार शाही र एकीकृत समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् । एमालेले उपाध्यक्ष र एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवार उठाएको छैनन्

प्रतिक्रिया दिनुहोस