Latest News

काठमाडौं महानगरपालिकामा एमालेका यी दुई उम्मेदवार निर्विरोध निर्वाचित

Nepalese Times May 1, 2022 (2 Year ago)    1139 Views

काठमडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका दुई जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ मा पनि दलित महिला सदस्य गीता परियारकोमात्र उम्मेदवारी परेकाले निर्विरोध भएका निर्वाचन आयोगले जनाएको छ ।

निर्विरोध भएका दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाको भनाइ छ ।

यस्तै स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा एकजना महिला सदस्य निर्बिरोध भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले को तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध भएकी छिन् ।

पाल्पामा पनि नेकपा एमालेका दुई उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । दुईजना महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिइन् ।

मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि दुवै महिला निर्विरोध निर्वाचित भएका हुन् । पूर्वखोला गाउँपालिका २ जाल्पाकी महिला सदस्य भिमिसरा आले र वडा नम्बर ५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध निर्वाचित भएका हुन् । एकल उम्मेदवारी परेकाले निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुवैजनालाई उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेबाट नुनबहादुर थापा, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरी, मंगोल नेशनल अर्गनाइजेसनका मोहन सिं सारु, जनता समाजवादी नेपालका विपिनकुमार सारुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

उपाध्यक्षमा नेकपा एमालेबाट भागीरथी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णु कुमारी आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै चितवनको इच्छाकामना गाउँपालिकामा एमालेका एक उम्मेदवारी निर्विरोध हुने भएका छन् । इच्छाकामना गाउँपालिका–१ मा दलित महिला वडा सदस्य पदमा एक जनाको मात्रै उम्मेदवारी गरेको हो ।

स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा इच्छाकामना–१ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार दुर्गा सार्की प्रजाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएकी हुन् । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पुरा भएपछि उनलाई विजयी घोषणा गर्नेछ ।

इच्छाकामना गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाल उम्मेदवार बनेका छन् । त्यस्तै गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा काँग्रेसकी गीता गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका प्रताप गुरुङ उम्मेदवार छन् । नेकपा एमालेको उम्मेदवार निर्विरोध निर्वाचित हुने भएपछि निर्वाचनमा हौसला मिलेको एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस