Latest News

मन्त्रिपरिषद् बैठक: टुंगो लाग्यो प्रहरी र सशस्त्रको प्रमुख

Nepalese Times May 1, 2022 (1 Year ago)    699 Views

काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा हुने निश्चित भएको छ । उनलाई बढुवा गर्नको लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लागेको हो।  अहिले मन्त्रिपरिषद्मा बालुवाटारमा बसिरहेको छ।  सो बैठकले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने छ ।

नेपाल प्रहरीको आइजिपीका लागि भने चार जना दौडमा थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपी हुने दौडमा थिए ।

 यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो नम्बर वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने पक्षमा थिए ।केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसका केही नेताहरु रुष्ट थिए र विकल्पका रुपमा सिंहलाई अघि सारिएको थियो ।

तर आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएको स्रोत बताउँछ । गृहमन्त्री बालकृष्ण खाँण पनि वरियताक्रम अनुसार नै आईजीपी नियुक्त गर्नुपर्ने पक्षमा थिए ।

तर प्रधानमन्त्री देउवा चाहिँ अझै आईजीपी नियुक्तिबारे परामर्शमै रहेको बालुवाटार स्रोत बताउँछ । स्रोत भन्छ, ‘प्रधानमन्त्रीज्यू, परामर्शमै रहनु भएकाले ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अझैसम्म बस्न सकेको छैन ।’

पोखरेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले २५ मंसिर २०७७ मा दरबन्दी थप गरेर एआईजीमा बढुवा गरेको थियो ।

नेपाल प्रहरीका आइजिपी शैलेश क्षापा क्षेत्री र सशस्त्र प्रहरीका आइजिपी पुष्पराम केसी आजदेखि अवकाशमा जाँदैछन्।

सशस्त्र प्रहरी बलतर्फ भने एआईजी राजु अर्याल आईजीपी बन्ने पक्का भइसकेको छ। सशस्त्र प्रहरीको नेतृत्वमा ल्याउन उनलाई केही दिनअघि मात्रै अतिरिक्त महानिरीक्षकमा एकल बढुवा गरिएको हो।

प्रतिक्रिया दिनुहोस