Latest News

नेपालमा प्रि मनसुन सक्रिय: आज कहाँ-कहाँ पर्छ पानी ?

Nepalese Times May 1, 2022 (10 Month ago)    467 Views

काठमाडौं – लामो समयपछि पूर्व मनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कल मात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन प्रि मनसुन सक्रिय रहनेछ ।

मौसमविद् समीर श्रेष्ठले भने, “दिउँसोको समयमा केही स्थिर रहेर कतै–कतै आकाश खुल्नेछ । तर, बिहान साँझ देशका धेरै भेगमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने सम्भावना रहेको छ ।” उनका अनुसार लगातार जलवाष्पयुक्त वायुको प्रवेशले प्रि मनसुन अघिल्ला समयभन्दा लम्बिएको हो ।

भारतको पश्चिम बङ्गालदेखि पूर्वी भेग हुँदै उत्तरप्रदेशसम्म बलियो न्यूनचापीय रेखा बनेको छ । यो नेपालको दक्षिण भेगबाट थोरै परसम्म पर्छ । पश्चिम–दक्षिण हुँदै पूर्वतर्फ सोझिनेक्रममा मौसम प्रणालीले यात्रा गरिरहेको अनुमान मौसमविद्हरूले गरेका छन् । जब यो रेखा नेपालको पूर्वी भेगतर्फ पूर्ण रूपमा सोझिन्छ, तब नेपालमा मनसुन भित्रने गर्छ ।

अहिलेको मौसम प्रणालीअनुसार नेपालको प्रदेश १, बागमती, गण्डकी, कर्णाली र तराईका अधिकांश भू–भागमा राम्रो बदली रहेको छ । शुक्रबार अपराह्नदेखि शनिबार बिहानसम्मको अवस्था विश्लेषण गर्दा काठमाडौँलगायत देशका अधिकांश भू–भागमा वर्षा भएको छ ।

देशका विभिन्न भागमा आज (आइतबार) पनि वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ।

दिउँसो देशभर नै केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ। विभागका अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ। सोमबारसम्म हल्का वर्षा र मौसममा बदली हुने र मंगलबारबाट मौसम खुल्ने मौसमविद्हरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस