Latest News

एमालेबाट नीलकण्ठ ८ को वडा अध्यक्षमा जीतबहादुर कुमालको उम्मेदवारी, यस्ता छन् प्रतिवद्धताहरु

Nepalese Times May 1, 2022 (1 Year ago)    824 Views

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ८ को वडाध्यक्षमा नेकपा एमालेले जीतबहादुर कुमाललाई सर्वसम्मत रुपमा उम्मेदवार बनाएको छ । नेपाल प्रहरीमा कार्यरत भएर सेवा निवृत्त भएका कुमाल विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहँदै आएका छन् ।

नीलकण्ठ नगरपालिकाभित्र कुमाल समुदायबाट एकमात्र वडा अध्यक्षको रुपमा उम्मेदवारी दिएका उनले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्दै घरदैलो कार्यक्रममा सुरु गरिसकेका छन् ।

आफले पार्टीको मात्र प्रतिनिधित्व नभएर सम्पुर्ण आदिवासी तथा कुमाल समुदायको तर्फबाट उम्मेदवारी पेश गरेको भन्दै उनले अघिका जनप्रतिनिधिहरुले सम्बोधन गर्न नसकेका तथा नचाहेका जन–जीविकाका समस्याहरुलाई समयमै सम्बोधन गरेर वडाको विकासमा नयाँ तरिकाले अगाडि बढ्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

आफूले वडाको नेतृत्व गर्न पाएको खण्डमा वडाबासीहरुले विगतमा जस्तै दलगत पुर्वाग्रही एवं पक्षपाती व्यवहार बेहोर्नु नपर्ने भन्दै उनले आफू वडामा एउटा ऐतिहासिक दृष्टान्त स्थापित गर्ने मनोभावनाका साथ चुनावमा होमिएको बताएका छन् ।

नेकपा एमाले नीलकण्ठ नगरपालिकाले वडा मै सम्पूर्ण जनसङख्यामा ठूलो हिस्सा ओगट्ने कुमाल समुदायबाट सर्वसम्मत नेतृत्व छान्न सकेको बताउँदै उनले स्थानीय सत्ता संचालनको लागि कुमाल समुदायको उम्मेदवार छनोट प्रक्रियाले राष्ट्रिय विकासको मूलधारमा सवैको समान अवसरलाई सुनिश्चित गरेको बताएका छन् ।

अहिले स्थानीय तहको विकासमा युवा सीप र दक्षताको प्रयोग गरी जनआकांक्षाहरु पुरा गर्ने तथा नगरपालिकालाई अगाडि बढाउन सक्ने कुशल नेतृत्वको आवश्यकता महसुस भएकोले सक्षम युवाको छनोटलाई अपरिहार्य ठानी जीतबहादुर कुमालको उमेदवारि अगाडि सारिएको नेकपा एमालेको दाबी छ ।

विगतको चुनावमा निकै ठुलो मत अन्तरले पराजय बेहोरेको नेकपा एमालेले यसपालि पनि पहिलेकै नियति भोग्नु पर्ने त होइन भनेर सोधेको प्रश्नमा अहिलेको परिस्थिति बिल्कुल फरक रहेको कुमालले बताए । उनले स्थानीय तहको निर्वाचनलाई दलिय स्वर्थभन्दा बिल्कुल फरक तरिकाले बिश्लेषण गर्ने आम बुझाइको विकास हुनुपर्ने जिकिर गर्दै आफूलाई सबै आदिवासी जनजाति तथा समुदायको समर्थन रहनुपर्ने बताए ।

वडामा अन्य पार्टीहरुले भन्दा नेकपा एमालेले आदिवासी जनजाति तथा उत्पिडित समुदायहरुलाई हेर्नेदृष्टिकोण सकारात्मक बनाएको उनको दाबी छ । आफ्नो उम्मेदवारिलाइ नेकपा एमालेले सर्वसम्मतरुपमा चयन गरेको तथा यसअघि पनि यसै समुदायको प्रतिनिधिलाई जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्रदान गरिसकेकोले अब आफ्नो वर्गीय उत्थानको लागि नेकपा एमाले सधै सकारात्मक रहने पार्टी भएको आम धारणा बनिसकेको हुँदा वडाबासीहरुले आफूलाई निर्वाचित गर्ने कुरामा आफु विश्वस्त रहेको उनी बताउँछन् ।

वडाअध्यक्षमा नेकपा एमालेले जीतबहादुर कुमालसहीत सोहि समुदायबाट मेनुका कुमाललाई पनि सर्वसम्मतरुपमा महिला सदस्यको उमेदवारको रुपमा अगाडि सारेको छ । यसैगरी दलित महिला सदस्यको उम्मेदवारमा शर्मिला बि.क. र पुरुष सदस्यको उम्मेदवारमा नारायण श्रेष्ठ र जीवनाथ दुवाडीलाई अगाडि सारेको छ ।

यता यसै वडामा नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा सबैभन्दा बढि मत ल्याएर निर्वाचित भएका वडा सदस्य रमेश कोइरालालाई वडाअध्यक्षको उम्मेदवारको रुपमा अगाडि सारेको छ । तर उनीविरुद्द अघिल्लो निर्वाचनमा कोइरालासगै निर्वाचित भएका कांग्रेसकै वडा सदस्य प्रकाश श्रेष्ठले सदस्यहरूको टिम नै बनाएर स्वतन्त्रबाट आफ्नो उम्मेदवारी पेश गरि कोइरालालाई चुनौती दिएका छन् ।

वडाध्यक्षमा अर्का प्रभावशाली युवा ठाकुर कुमालको समेत दाबेदारी रहेको अवस्थामा क्षेत्रीय कमिटीले आधिकारिक टिकट प्रदान गरिएको उम्मेदवार समयमै सार्वजनिक नगरिदिँदा कांग्रेसले आफ्ना आधिकारिक सदस्यहरुको उम्मेदवारी भने प्रस्तुत गर्न भ्याएन । श्रेष्ठ कांग्रेसको ठूलो जनमत रहेको टोलबाट प्रतिनिधित्व गर्ने भएकोले नेपाली कांग्रेसको मत पुर्णरुपमा विभाजित हुने अवस्था रहेको वडाबासीहरुको आँकलन छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा निकै ठुलो मत अन्तरले पछाडि पारी नेपाली कांग्रेसका सबै प्रतिनिधिहरु विजयी भएपनि यसपाली श्रेष्ठले दिएको स्वतन्त्र उम्मेदवारीले उक्त अवस्थालाई ठूलै धक्का दिने पूर्वानुमानका साथ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु चिन्तित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस