Latest News

एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल, यस्तो छ भागबन्डा

Nepalese Times April 30, 2022 (1 Year ago)    557 Views

 नेकपा एमाले र एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।

अछामको मेल्लेख गाउँपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले आफूलाई अलग गरेपछि समाजवादीले एमालेसँग तालमेल गरेको हो ।

दुई दलबीचको सहमतिपछि मेल्लेखमा अध्यक्षमा एमालेका भीमबहादुर खड्का र उपाध्यक्षमा एकीकृत समाजवादीकी समिता महर साउदलाई साझा उम्मेदवार बनाइएको छ ।

समाजवादीबाट अध्यक्षमा मनोनयन दर्ता गरेका डम्बर नेपाली र एमालेबाट उपाध्यक्षमा उम्मेदवार एमालेकी चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।

८ वटा वडा रहेको मेल्लेखमा एमालेले ७ र एकीकृत समाजवादीले एउटा वडा सहमति गरेका छन् । तर वडाध्यक्षमा मनोनयन दर्ता गरेका दुवै पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । मेल्लेख नेकपा एमालेका प्रदेश कमिटी सदस्य कृष्णप्रसाद जैशी र एकीकृत समाजवादीकी प्रदेश कमिटी सदस्य तथा पूर्व मन्त्री मनाकुमारी साउदको गाउँपालिका हो ।

एमालेका प्रदेश कमिटी सदस्य जैसीले एकीकृत समाजवादीको प्रस्तावअनुसार आन्तरिक सहमतिका आधारमा गठबन्धन गरिएको बताए ।

यस्तै हुम्लाको चंखेली गाउँपालिकामा एमाले र नेकपा एकीकृत समाजवादीबीच चुनावी लातमेल भएको छ । केन्द्रमा एमालेले एकीकृत समाजवादीलाई पार्टी नमाने पनि हुम्लाको चंखेली गाउँपालिकामा भने चुनावी तालमेल भएको हो ।

एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेलपछि अध्यक्षमा एमालेका विमलाकुमार शाही र एकीकृत समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् । एमालेले उपाध्यक्ष र एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवार उठाएको छैनन् ।

प्रतिक्रिया दिनुहोस