Latest News

एमालेसँग साँठगाँठ भएको छैन, देउवाको कारबाहीले डराउँदिन : जगन्नाथ पौडेल (विशेष अन्तर्वार्ता)

Nepalese Times April 30, 2022 (1 Year ago)    1872 Views

काठमाडौं । जगन्नाथ पौडेल चितवनको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयर पदका उम्मेदवार हुन् । उनले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन् ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले टिकट पाएकी छिन् । केन्द्रबाटै भरतपुरमा मेयरमा माओवादीको उम्मेदवारलाई र उपमेयरमा नेपाली कांग्रेसको उम्मेदवारलाई साझा बनाउने सहमति जुट्यो, तर पौडेलसहितका भरतपुरका नेताहरु यसमा सहमत हुन सकेनन् ।

भरतपुरको मेयर माओवादी केन्द्रले पाउने औपचारिक निर्णय भएसँगै असन्तुष्ट कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पौडेललाई स्वतन्त्र उम्ेमदवार बनाएका हुन् । उम्मेदवारी फिर्ताका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँडसहितका नेताहरुलाई चितवन पठाए । उनीहरुको प्रयास पनि सफल हुन सकेन ।

चितवनको मेयरमा बागी उम्मेदवारी दिएका पौडेलले अन्तिम समयमा पनि उम्मेदवारी फिर्ता नगरेपछि उनीसहित उनका समर्थक र प्रस्तावक समेतलाई पार्टीले निष्कासन गरेको छ । उनै भरतपुर महानगरको मेयर उम्मेदवार पौडेलसँग नेप्लिज टाइम्सले कुराकानी गरेको छ ।

नेपाली कांग्रेसले पार्टीबाट निष्कासित गर्दासमेत तपाईले उम्मेदवारी फिर्ता लिनुभएन । जित्छु भन्ने कत्तिको विश्वास छ ?

मेरो यो सिद्धान्त र विचारको लडाईं हो । अहिले भएको गठबन्धन स्वस्थ होईन भन्ने नै मेरो लाईन हो । मैले जुन पदमा जहाँ उम्मेदवारी दिएको छु, म बाहेक कांग्रेसका अरु साथिहरुले उम्मेदवारी दिनुभएको छैन । मेरो उम्मेदवारी बागी र विद्रोही केही पनि होइन । यसलाई बहाना बनाएर दायाँबायाँ गर्न पाईँदैन । चितवनका जनता अहिले सचेत छन् । उनीहरुले मलाई सहयोग गर्छन् भन्नेमा म ९९ प्रतिशत ढुक्क छु । कांग्रेसका नेता तथा कार्यकर्ताहरुले हाम्रो मनको कुरा तपाईले बोलिदिनुभयो भनेर मलाई ज्यान दिएर समर्थन गरिरहेका छन् ।

सिद्धान्त र विचारको लडाईंको कुरा त गर्नुभयो, तर पार्टीले कारबाही गरिसक्यो नि ?

पार्टीले कारबाही गरेर सदस्य खोस्दैमा मेरो विचार बदल्न उसले सक्दैन । म भ्रष्टाचार विरोधी अभियानमा छु, त्यसमा उनीहरुले रोक्न सक्दैनन् । उनीहरुले आएर मेरो छाक टारिदिने पनि होइन । म निष्ठाको राजनीति गर्ने मान्छे हो । मलाई पद र पैसाले छुँदैन । पार्टीले कारबाही गर्दैमा मलाई केही फरक पर्दैन ।

तपाईकै कारणले सत्ता गठबन्धनका साझा उम्मेदवारले हार्ने र नेकपा एमालेको एमालेका उम्मेदवारलाई सहज वातावरण बन्यो भन्ने चर्चा सुरु भएको छ नि ?

मैले संविधानले दिएको अधिकार प्रयोग गरेर स्वतन्त्र रुपमा नोमिनेसन दर्ता गरेको हुँ । अहिले गठबन्धनसँग मेरो केही नाता पनि छैन । मसँग मेयर पदमा उम्मेदवारी दिने ३२ जना छन् । ति सबैले कसैलाई न कसैलाई असर पार्ने होला नि त । मैले आफू जित्नका लागि उम्मेदवारी दिएको हुँ । अहिले गलत व्याख्या भइरहेको छ । कसले हार्छ र कसले जित्छ भन्ने जवाफ मैले दिने होइन ।

तर तपाई त स्वतन्त्र व्यक्ति हुनुहुन्न नि, लामो समय नेपाली कांग्रेसको राजनीति गरेर आउनुभएको । नेकपा एमालेसँग साँठगाँठ गरेर उम्मेदवारी फिर्ता नलिनुभएको भन्ने आरोप छ नि ?

यो सबै भ्रम मात्रै हो । गठबन्धन भएको या नभएको कुरा मलाई मतलव छैन र त्यति सान्दर्भिक पनि लाग्दैन । चितवनका लोकतन्त्रवादी÷प्रजातन्त्रवादी कांग्रेसका मान्छेहरुलाई अन्याय भयो, हाम्रो आवाज बोलिदिनुपर्यो, हामी हिँड्न नसकेको बाटोमा तपाईले हिँडिदिनुपर्यो, हामीले उठाउन नसकेको जोखिम उठाईदिनुपर्यो भनेको हुनाले मैले यो जोखिम उठाएको हुँ ।

सत्ता गठबन्धनको साझा उम्मेदवार रेनु दाहालले हार्ने र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले जित्त्ने अवस्था भयो भने त तपाईले पार्टीलाई पनि धोका दिएको पुष्टि हुन्छ नि ?

राजनीतिमा जित र हारको सम्भावना सबैको सतप्रतिशत हुन्छ । उदाहरण नै हेर्ने हो भने पनि ३० हजार मतको फरकले जितेको वामदेव गौतमले वर्दिया क्षेत्र नम्बर १ बाट चुनाव हारेका होइनन् र ? हार र जितको जिम्मा कसैले पनि लिन सक्दैन । अरुलाई दोष दिएर पन्छिने कुरा आउँदैन ।

यति लामो समयको राजनीतिक यात्रा नै धरापमा राखेर यस्तो कठोर निर्णय किन लिनुभयो ?

कसरी धरापमा छ मेरो राजनीतिक यात्रा ? आज मलाई ९९ प्रतिशत संचारमाध्यमले समर्थन गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मान्छेहरुले सही गर्यो भनेर स्याबासी दिइरहेका छन् । बुद्धिजिवी, नागरिक समाज र प्रभुत्व मान्छेहरुले मलाई ठिक गर्यो भनिरहेका छन् । मलाई पद चाहिएको होइन, मैले गलत काम गरेर कुनै कुरा लिन परेको छैन । मलाई पार्टीले कारबाही गरेर निस्कासन गर्यो भनेर कुनै गुनासो छैन । मैले कुनै गल्ती गरेको भए पो मेरो राजनीतिक भविश्य धरापमा पर्यो भनेर डराउनु ।

नेपाली कांग्रेसले तपाईको कारबाही फुकुवा गरेन भने तपाईको राजनीतिक यात्रा कतातिर जान्छ ?

चितवन कांग्रेस अब खास मसँग रहन्छ । मेरो राजनीतिक यात्रा खत्तम भएको छैन, झन सक्रिय भएर राजनीतिक यात्रालाई अघि बढाउने अवसर मिलेको छ ।

उम्मेदवारी दिएसँगै तपाईमाथि ग्रिनकार्ड भएको, बालकुमारी कलेजको जग्गा हडपेकोलगायत आरोप पनि लागिरहेको छ । यसको जवाफ कसरी दिनुहुन्छ ?

पहिलो कुरा, चर्चामा भएजस्तो मसँग कुनै पनि ग्रिनकार्ड छैन । म ग्रिनकार्डको पक्षमा भएको मान्छे होइन । यो भ्रामक कुरा हो । तपाईले भन्नुभएको अर्को विषय बालकुमारी कलेज समूदायको कलेज हो । यो नाफारिहत संस्था हो । यो कलेजले गरीब तथा जेहन्दार विद्यार्थीहरुलाई निशुल्क पठाउने काम गर्छ । सालाखाला विद्यार्थीहरुलाई कम पैसामा पठाउने गर्छ । गैर–नाफामुलक कलेज हो यो । यो कलेजले नगरपालिकासँग सम्झौता गरेर लाईन्स क्लवमार्फत घर बनाएको हो । त्यहाँ न मेरो व्यक्तिगत सम्पत्ती छ, न म लाभको पदमा बसेको छु । मैले स्थापना गरेको कलेज हो तर कम्युनिटी कलेज हो । यो जुन कुरा छ, सबै बनावटी हो । त्यसमा कुनै सत्यता छैन । यदि कसैलाई संका लाग्छ भने मसँग बहस गर्न आए हुन्छ ।

तपाई र नेपाली कांग्रेससहित सत्ता गठबन्धनको साझा उम्मेदवारले हार्ने र नेकपा एमालेका उम्मेदवारले जितेमा तपाईलाई पनि त अप्ठ्यारा अवस्थाहरु आउन सक्लान् नि ?

अप्ठ्यारा त मैले जिन्दगीभर नै सामना गरेको छु । मैले कुनै गल्ती काम गरेकै छैन मलाई किन अप्ठ्यारो हुने हो र ? मैले कुनै गल्ती नै गरेको छैन त म किन डराउने ? मलाई कसैले दागा धरेर तह लगाउँछु भन्न सक्लान् त्यो आफ्नो ठाउँमा छ । तर म सत्य छु भने म डगमगाउने कुरै हुँदैन । अप्ठ्याराको कुरा नै आउँदैन । पञ्चायतको पालामा हामीविरुद्ध मुद्धा लगाएर फाँसीमा झुण्डिन तयार भएको मान्छे यस्ता सामान्य कुराले जगन्नाथ पौडेल डराउँदैन । डराउने भए मैले नोमिनेसन फिर्ता लिगिसक्थेँ ।

अन्त्यमाः तपाईले जित्नुभयो भने भरतपुर महानगरपालिकाका लागि के काम गनुहुन्छ ?

मैले जितेँ भने भरतपुर महानगरपालिकालाई समृद्ध महानगरपालिकना बनाउँछु । अरु पालिकाहरुभन्दा सर्वोत्कृष्ठ बनाउँछु । अरुले १० करोडमा गरेको काम म ५ करोडमा गरिदिन्छु । अरु विस्तृत योजनाबारे अर्को कुराकानीमा भनौँला ।

प्रतिक्रिया दिनुहोस