Latest News

काठमाडौं महानगरको मेयर उम्मेदवार सिर्जना सिंह घरदैलो गर्दै, यस्तो छ कार्यक्रम तालिका

Nepalese Times April 30, 2022 (1 Year ago)    767 Views

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको काठमाडौं महानगरको  मेयर उम्मेदवार सिर्जना सिंहले आइतबारदेखि घरदैलो गर्ने भएकी छन्।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनी आइतबारबाट काठमाडौं महानगर क्षेत्रमा मतदाताको घरघरमा पुग्ने भएकी हुन्।

नेतृ सिंहको सचिवालयले आइतबारदेखि वैशाख २७ गतेसम्म बिहान र साँझ गरेर घरदैलो गरिने कार्यक्रम तय गरेको छ। जसअनुसार उनी आइतबार बिहान वडा नम्बर १ र १० मा घरदैलो गर्दैछिन्।

सोमबार बेलुकी वडा नम्बर १६ मा घरदैलो गरिने सिंहको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बिहानको घरदैलो कार्यक्रम ७ देखि १० बजेसम्म र बेलुकीको घरदैलो कार्यक्रम अपराह्न ४ बजेदेखि बेलुकी ७ बजेसम्म चल्ने छ।

यस्तो छ सिर्जना सिंहको घरदैलो कार्यक्रमको तालिका

यस्तै काँग्रेसबाट काठमाडौँ महानगरमा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले सङ्कल्प पत्र सार्वजनिक गरेकी छन् ।

‘सिर्जना सिंहका सात ‘स’ को सङ्कल्प’ नाम दिइएको पत्रमा उनले सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार तथा स्वावलम्बी महिला, सबल युवा, सिर्जनाशील महानगरवासी जस्ता सातवटा प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

उनले आफ्नो सङ्कल्पमा महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउने सङ्कल्प गरेकी छन् । त्यस्तै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने उनले बताएकी छन् ।

सङ्कल्प पत्रमा उनले काठमाडौँ महानगरलाई जिरो वेस्ट नगरपालिका बनाउने बताउनुका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्ण सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्ने बताएकी छन् ।

आफ्नो संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रमलाई सम्बोधनका क्रममा सिंहले सामाजिक सुरक्षाको काममा धेरै गर्न सकिने बताइन्।

उनले आफू मेयरमा विजयी भएमा काठमाडौंका गृहिणीलाई भत्ताको व्यवस्था गर्ने बताइन्। सिंहले काठमाडौं महानगरपालिका क्षेत्रका विदुर पुरुषका लागि पनि राहतको व्यवस्था गर्ने वचन दिएकी छन्।

उनले काठमाडौंलाई सुरक्षित सहर बनाउन काम गर्ने पनि बताइन्। ‘काठमाडौंलाई म सुरक्षित सहर बनाउँछु। महिलाहरु राति पनि ढुक्कले हिँड्ने सहर बनाउँछु’, उनले भनिन्, ‘प्रहरीसँग मिलेर सिसिटीभी जोड्छु र म आफैं काठमाडौं सुरक्षित छ भन्न रातभर एक्लै हिँड्न तयार छु।’

उनले काठमाडौंका जेष्ठ नागरिहहरुका लागि समेत राहत प्याकेज ल्याउने बताइन्। ठाउँ ठाउँमा आफूले शिशु स्याहार केन्द्र पनि खोल्ने उनले बताएकी छन्।

.

प्रतिक्रिया दिनुहोस