Latest News

चुनाव चिन्ह पाएलगत्तै भरतपुर मेयरका चर्चित उम्मेदवार पौडेलमाथि लाग्यो गम्भीर आरोप (भिडियोसहित)

Nepalese Times April 30, 2022 (1 Year ago)    3097 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन् ।

उनले चुनाव चिन्ह प्राप्त गरेलगत्तै उनको एउटा भिडियो क्लिप सामाजिक संजालमा भाइरल बनेको छ । उनीसँग अमेरिकाको ग्रिनकार्ड रहेको खुलेको छ । एक टेलिभिजन कार्यक्रममा नै उनले आफूसँग अमेरिकाको ग्रिन कार्ड रहेको स्वीकार गरेका छन् ।

पत्रकारले अमेरिकामा ग्रिनकार्ड रहेको मान्छेले यहाँ बसेर जनताको सेवा नै गर्नुहुन्छ भन्ने के ग्यारेण्टी ? भनेर सोधेको प्रश्नमा उनले आफ्नो छोरा र छोरी अमेरिकामा रहेकोले उनीहरुलाई भेट्न जान आफ्नो ग्रिन कार्ड रहेको स्वीकार गरेका हुन् ।

आफू अमेरिकामा छोरा र छोरीलाई भेट्न जाने गरेको भन्दै उनले अमेरिकामा जाँदा २ देखि ३ हप्तामात्रै त्यहाँ बस्ने गरेको भन्दै पुरै समय चितवनका बासिन्दालाई दिने गरेको तर्क गरे । उनले आफूले नेपाललाई नै अमेरिका जस्तो बनाउन लागिपरेको रुपान्तरणको पक्षमा रहेको मान्छे अमेरिकामा नै गएर जिवन बिताउने भन्ने नरहेको बताए ।

आफूले त्यतिबेलाको भरतपुर नगरपालिकामा उपमेयर भएर काम गर्दा भरतपुर नम्बर एक भएको भन्दै उनले अब फेरि आफूले अवसर पाए भरतपुरलाई देशकै नमूना महानगरपालिका बनाउने उनले प्रतिवद्धतासमेत जनाएका छन् ।

यस्तै उनीमाथि बालकुमारी कलेजको अध्यक्ष हुँदा महानगरपालिकाको सरकारी जग्गा दुरुपयोग गरेर नर्सिङ कलेज संचालन गरेकोसमेत आरोप लागेको छ । यस आरोपबारे पौडेलले महानगरपालिकाको कुनै पनि जग्गा दुरुपयोग नभएको बताएका छन् ।

बालकुमारी कलेज समूदायक ‘नन प्रफिटेबल’ कलेज भएको र त्यसले कम शुल्कमा विद्यार्थी पठाउने गरेको भन्दै उनले सरकारी जग्गा दुरुपयोग गरेको आरोप गलत रहेको बताए ।

चुनावको समयमा नभएको कुरा बाहिर ल्याएर बहानाबाजी गरेर बदनाम गर्ने काम भएको भन्दै उनले आफ्नो व्यक्तिगत स्वार्थमाथि कसैले प्रश्न उठाएर देखाउन चेतावनीसमेत दिएका छन् । उनले आफू कहिल्यै पनि लेनदेन र विकाउमा बिक्ने मान्छे नभएकोसमेत उनले बताए ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले टिकट पाएकी छिन् । केन्द्रबाटै भरतपुरमा मेयरमा माओवादीको उम्मेदवारलाई र उपमेयरमा नेपाली कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने सहमति जुटेको छ ।

भरतपुरको मेयर माओवादी केन्द्रले पाउने औपचारिक निर्णय भएसँगै असन्तुष्ट कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पौडेललाई स्वतन्त्र उम्ेमदवार बनाएका हुन् । उम्मेदवारी फिर्ताका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँडसहितका नेताहरुलाई चितवन पठाएपनि उनीहरुको प्रयास सफल हुन सकेन ।

चितवनको मेयरमा बागी उम्मेदवारी दिएका पौडेलले अन्तिम समयमा पनि उम्मेदवारी फिर्ता नगरेपछि उनीसहित उनका समर्थक र प्रस्तावकलाईसमेत नेपाली कांग्रेसले निष्कासन गरेको छ ।

भिडियो स्रोत: ग्यालेक्सी फोर के

प्रतिक्रिया दिनुहोस