Latest News

काठमाडौं महानगरको मेयरका चर्चित उम्मेदवार बालेनले पनि पाए यस्तो चुनाव चिन्ह

Nepalese Times April 30, 2022 (1 Year ago)    674 Views

काठमाडौ । काठमाडौं महानगरपालिकाको मेयर पदका चर्चित उम्मेदवार बालेन शाहले लौरो चुनाव चिन्ह पाएका छन् । बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावका लागि उनले चुनाव चिन्ह लौरो पाएका हुन् ।

यस्तै चितवनको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलसहित स्वतन्त्र उम्मेदवारहरूले चुनाव चिह्न पाएका छन्।

स्वतन्त्र उमेदवार पौडेलले ‘भुइँकटहर’ चुनाव चिह्न पाएका छन् भने अरु मेयरका स्वतन्त्र उमेदवारहरू सुमन अधिकारीले मुडा, हरिशरण श्रेष्ठले आँप, हरिश्चन्द्र घिमिरेले जेब्रा, मिलन अधिकारीले हाँस, मोहित पाण्डेले पुतली, यामकान्त शर्मा कँडेलले लौरो, योगलाल श्रेष्ठले खानेपानीको धारा, रमेश भण्डारीले कैँची, रामकृष्ण ओझाले गुलाबको फुल, उद्धव अर्यालले व्याडमिन्टन र कुलराज कँडेलले खरायो चुनाव चिह्न पाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो । भरतपुरको मेयरका लागि ३० जनाले उमेदवारी दिएकामा शुक्रबार तीन जनाले उमेदवारी फिर्ता लिएका छन् ।

दलका उमेदवारहरुले भने दलकै चुनाव चिह्न पाएका छन् । गठबन्धनबाट मेयरको उमेदवार बनेकी रेनु दाहालले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा र एमालेका विजय सुवेदीले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने छन् ।

यस्तै स्थानीय तह निर्वाचनमा कैलालीको धनगढी उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले पनि चुनाव चिन्ह पाएका छन् । उनले ‘आँप’ चुनाव चिन्ह पाएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार धनगढीमा उनलाई चुनाव चिन्ह ‘आँप’ प्रदान गरेको हो।
स्वतन्त्र उम्मेदवार हमालले गत आइतबार उपमहानगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराए थिए।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। हमाल तत्कालीन समयमा नेपाली कांग्रेसका नृपबहादुर वडासँग पराजित हुँदै दोस्रो भएका थिए। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गरिँदै छ।

निर्वाचन आयोगले शनिबार दलगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो। यसअघि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका स्वतन्त्र उम्मेदवारहरुले चिह्न पाउने छन्। उम्मेदवारी दिएका मध्ये कतिपय उम्मेदवारले हिजो उम्मेदवारी फिर्ता लिएका थिए।

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका दलहरूले आफ्नै चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । यही वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा आज साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको बताउनुभयो । सो प्रणालीमा आज ७ बजेसम्मको विवरणअनुसार एक लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस