Latest News

एमाले उम्मेदवारको ज्यान गएपछि निर्वाचन कार्यक्रम स्थगित

Nepalese Times April 30, 2022 (10 Month ago)    1501 Views

काठमाडौं । नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवारको ज्यान गएपछि कपिलवस्तुको बुद्धभूमि गाउँपालिकामा स्थानीय तह निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

गाउँपालिकाको वडानम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको ज्यान गएकोले आजको निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट उम्मेदवार बनेका तिवारीको शुक्रबार ज्यान गएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएको छ ।

यस्तै वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गरिँदै छ।

निर्वाचन आयोगले शनिबार दलगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो।
यसअघि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका स्वतन्त्र उम्मेदवारहरुले चिह्न पाउने छन्। उम्मेदवारी दिएका मध्ये कतिपय उम्मेदवारले हिजो उम्मेदवारी फिर्ता लिएका थिए।

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका दलहरूले आफ्नै चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । यही वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा आज साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको बताउनुभयो । सो प्रणालीमा आज ७ बजेसम्मको विवरणअनुसार एक लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस