Latest News

अन्ततः भरतपुर मेयरका बागी उम्मेदवार जगन्नाथसहित यी नेतालाई कांग्रेसले गर्यो निष्कासन

Nepalese Times April 29, 2022 (1 Year ago)    2606 Views

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारी कायमै राखेपछि उनी कारबाहीमा परेका छन् ।

आज ५ बजेसम्म उम्मेदवारी फिर्ताका लागि निर्धारित समयमा पौडेलले उम्मेदवारी फिर्ता नलिएसँगै पार्टीले उनलाई निष्कासन गरेको हो । कांग्रेस विधानको दफा ४ को १३ को ग अनुसार पौडेलसहित प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेल कांग्रेसबाट स्वतः निष्कासित भएका हुन् ।

भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेल राष्ट्रियसभाका पूर्वसदस्य हुन् । उनका प्रस्तावक सापकोटा चितवन कांग्रेसका पूर्वसभापति हुन् भने समर्थक खरेल महासमिति सदस्य हुन् ।

नेकपा माओवादी केन्द्रलाई भरतपुरको मेयरमा सघाउने पार्टी निर्णयको विरुद्धमा पौडेलले ‘बागी’ उम्मेदवारी दिएसँगै उनी पार्टीबाट निस्कासित भएका हुन् । कांग्रेसको विधान अनुसार अब पौडेलसहित प्रस्ताव र समर्थक कांग्रेसबाट स्वतः निष्कासित भएका छन् ।

कांग्रेसले आजै विज्ञप्ति जारी गरेर ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिने स्वतन्त्र उम्मेदवारहरु साधारण सदस्यसमेत नरहने गरी निष्कासन हुने चेतावनी दिएको थियो ।

यस्तै पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता गरेका छन् । मेयरमा उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी फिर्ता लिएका हुन् ।

केही दिन सांकेतिक विद्रोह गरेको तर आफूहरुको कारणले राष्ट्रको स्थिति असहज हुने देखेर फिर्ता लिएको मनोनयन फिर्ता लिएपछि सापकोटाले प्रतिक्रिया दिएका छन् ।

यस्तै कांग्रेसको इमान्दार कार्यकर्ताको हैसियतमा पार्टीको निर्णय मानेर सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिनु आफूहरुको दायित्व भएको तिवारीले बताएका छन् ।

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी राष्ट्रिय जनमोर्चा गठबन्धनले मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । तर कांग्रेसबाटै बागी उम्मेदवारी दिएका विमल कार्कीले उम्मेदवारी फिर्ता लिइसकेका छैनन् ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्। कांग्रेसबाट भएको उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दिएक थिए।

शुक्रबार उम्मेदवारी फिर्ता लिँदै सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार गेहेन्द्र गिरिलाई समर्थन गरेका हुन्। गठबन्धन दलका नेताहरुबीच भएको सहमतिअनुसार तुलसीपुरको मेयर कांग्रेसले पाएको थियो।

कांग्रेसले गेहेन्द्र गिरिलाई तुलसीपुरको उम्मेदवार उठाएको हो। गिरिलाई मेयरको उम्मेदवार बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उम्मेदवारी फिर्ता लिँदै उनले सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिलाई विजयी गराउन अपिल गरेका छन्।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिने भएका छन्।

प्रतिक्रिया दिनुहोस